४ कार्तिक, काठमाडाैँ। आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षालाई प्राथमिकतामा राखिएको छ । निर्वाचन आयोग र राससको संयुक्त आयोजनामा बिहीबार यहाँ भएको मिडिया अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले मतदाता शिक्षालाई घरदैलोसम्म पुर्याउन वडास्तरमा मासिका नियुक्त गरेको जानकारी दिइन् ।
“यसको उद्देश्य भनेको खसेको मत सबै सदर हुनुपर्छ भन्ने मान्यता हो”, उनले भनिन् । आयुक्त डा तुलाधरले सबैभन्दा चुनौतीको विषय आचारसंहिताको पालना भएको उल्लेख गर्दै निर्वाचनमा मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निषेध गरिएको बताइन् । बाँकेका प्रमुख निर्वाचन अधिकृत धनसिंह महराले आचारसंहिता उल्लङ्घन भएमा त्यसलाई खबरदारी गर्ने दायित्व मिडियाको भएको उल्लेख गर्दै निर्वाचन आयोग यसपटक कडा ढङ्गले प्रस्तुत भएको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले मतदातालाई प्रभावित गर्ने काम नहोस् भन्दै निर्वाचन आचारसंहिता पालनाको विषय साझा विषय भएको बताए । कार्यक्रमको सहजीकरण गर्दै निर्वाचन आयोगका उपसचिव कमल ज्ञवालीले ‘सोसल मिडिया’मा आचारसंहिता उल्लङ्घनमा कसरी खर्च भएको भन्ने विषयको रेकर्ड राख्ने संयन्त्र निर्माण गरिएको जानकारी दिँदै निर्वाचनसँग सम्बन्धित आयोगले गरेका विभिन्न प्रगतिबारे जानकारी दिए ।