१९ कार्तिक, तनहुँ। नेपाल संस्कृत विश्वविद्यालयका प्रशासनिक तथा लेखामा कार्यरत कर्मचारीका लागि सात दिने क्षमता अभिवृद्धि तालिम आजदेखि देवघाटमा सुरु भएको छ । तालिमको विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले उद्घाटन गरे ।
सो अवसरमा उहाँले संस्कृति वाङ्मयका लागि देवघाटधामका गुरुकुलले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । विश्वविद्यालयले संस्कारयुक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उनले भने, “विश्वविद्यालयका स्थायी सरकारका रूपमा रहेका कर्मचारीलाई यस्ता तालिमले थप उत्साह पुर्याउने विश्वास विश्वविद्यालयको छ ।”
कार्यक्रममा देवघाटस्थित गलेश्वर आश्रमका पीठाधिश आत्मानन्द गिरी, हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञाननन्द सरस्वती, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा श्रीधर मजगैयाँ, सेवा आयोगका सदस्य सचिव प्रा मुरली मोहन बाँस्तोला, विश्वविद्यालयको अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा मधुसुधन पौडेल, प्रा महादेव अवस्थी, विश्वविद्यालयका रजिष्ट्रार सहप्रध्यापक माधव अधिकारीलगायतले देवघाटको महिमा र संस्कृत वाङ्मयको महत्वबारे बोलेका थिए ।
कालिका संस्कृत विद्यापीठ गैँडाकोटका प्राचार्य सहप्रध्यापक डा रामचन्द्र कँडेलका अनुसार तालिममा विश्वविद्यालयका १४ आङ्गिक क्याम्पस, केन्द्रीय कार्यालय, आयुर्वेद सघन संस्थान, थापत्य (वास्तु इञ्जिनियरीङ) सघन संस्थान, परीक्षा नियन्त्रण कार्यालयका लेखा र प्रशासनमा कार्यरत ७५ जनाको सहभागिता रहेको छ ।






