धरानका सबै विद्यालय एकदिने डेंगी सर्च एन्ड डिस्ट्रोय अभियानका लागि बुधबार बिदा
शिक्षाखबर डेस्क
१६ श्रावण २०८०, मंगलवार
no immg

सुनसरी — धरान उपमहानगरपालिकाले डेंगी भाइरस नियन्त्रण अभियानका लागि भन्दै पालिकाभित्रका सबै शैक्षिक संस्थामा बुधबार बिदा दिएको छ ।स्थानीय सरकारले डेंगी नियन्त्रण गर्न चासो नदेखाएको भन्दै आलोचना भएपछि नगर प्रमुख हर्कराज साम्पाङले मंगलबार आकस्मिक कार्यपालिका बैठक बोलाएर बुधबार बिदा गर्ने र बिदामा सर्च एन्ड डिस्ट्रोय अभियान चलाउने निर्णय गरेका हुन् ।

उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेंगी प्रकोप नियन्त्रणका लागि एक दिने सर्च एन्ड डिस्ट्रोय अभियानमा सहभागी जनाउन पनि आह्वान गरेको छ ।

बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडाहरुमा सामाजिक संघसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ-आफ्नो वडाको टोलटोलमा परिचालित हुन अनुरोध गरेको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराईले सूचना जारी गर्दै डेंगी फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन बिदा दिइएको बताए । वडा समिति कार्यालयहरु आ-आफ्नो वडामा नि:शुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविरहरु संचालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेंगी नियन्त्रण नहुने देखिएकले व्यापक जनपरिचालन गर्ने निर्णइ गरिएको धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए ।

उनले भने, ‘घरघरमै डेंगीका बिरामी देखिएका छन् । त्यसैले कार्यपालिकाको आकस्मिक बैठकले बुधबार बिहान ७ बजेदेखि धरानका २० वटै वडामा एकसाथ सर्च एन्ड डिस्ट्रोय अभियान चलाउन जुटेका छौं ।’
धरानमा जेठ तेस्रो सातायता एक बालिकासहित ८ जनाको मृत्यु भइसकेको छ । निजी क्लिनिक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेंगीका बिरामीले बेड पाउन सकेका छैनन् । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताकाअनुसार साउन १५ गतेसम्ममा ४ हजार २ सय १८ जनाको जाँच गर्दा २ हजार ४ सय ९५ जना डेंगी पोजिटिभ पाएको छ । उनकाअनुसार यो संख्या स्वास्थ्य महाशाखा अन्तर्गतको विभिन्न स्वास्थ्य चौकी र वडाहरुले संचालन गरेको नि:शुल्क शिविरमा आएर जाँच गर्ने मध्येका पोजिटिभ देखिएका बिरामीको मात्र हो ।
टोलटोलमा बिरामी देखिएकाले करिब १२ हजारभन्दा बढी संक्रमित भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया