जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
शिक्षाखबर डेस्क
१० असार २०८३, बुधबार
no immg

काठमाडौं / सरकारले जलन उपचार सेवालाई सहज, प्रभावकारी र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालहरूमा सेवा विस्तार सुरु गरेको छ। सरकारको १०० दिने प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय तथा ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा ल्याइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार १०९ जना स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष जलन उपचारसम्बन्धी तालिम प्रदान गरिएको छ। यस पहलबाट सर्वसाधारणले आफ्नै नजिकका अस्पतालबाट प्रारम्भिक जलन उपचार सेवा सहज रूपमा पाउने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार जलन उपचारसँगै प्लास्टिक सर्जरी तथा अन्य जटिल उपचार सेवाको समेत आवश्यकता पर्ने भएकाले छुट्टै अस्पताल स्थापना गर्नुभन्दा सुविधा सम्पन्न अस्पतालमै विशेष युनिट स्थापना गर्नु बढी प्रभावकारी हुने ठहर गरिएको छ।

हालसम्म कान्ति बाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–वीर अस्पताल, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलन उपचारका लागि छुट्टै वार्ड स्थापना गरिएको छ।

प्रतिक्रिया