कमजोर मनसुनले गत वर्षभन्दा कम रोपाइँ
शिक्षाखबर डेस्क
१६ असार २०८३, मंगलवार
no immg

काठमाडाैं / मनसुन र मलको पर्याप्तता नहुँदा १५ असारसम्म देशभर १५ प्रतिशत पनि रोपाइँ हुन सकेको छैन । कृषि विभागका अनुसार हालसम्म देशभर १३.४९ प्रतिशत मात्र रोपाइँ सकिएको छ । गत वर्ष १५ असारसम्म १५.६२ प्रतिशत रोपाइँ सकिएको थियो । मध्य असारसम्म धेरै क्षेत्रफलमा रोपाइँ भइसक्नुपर्ने भए पनि मनसुन नहुँदा किसानले रोपाइँ गर्न नसकेको विभागले जनाएको छ ।

सोमबार ललितपुरको खुमलटारमा आयोजित २३औँ धान दिवस तथा रोपाइँ महोत्सवमा सांसदसमेत रहेका कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक चौधरीले मागअनुसार धान उत्पादन हुन नसकेको बताए । ‘वार्षिक ७० लाख टन धानको माग छ, तर ६० लाख मात्र उत्पादन भइरहेको छ,’ उनले भने, ‘किसानका समस्यालाई समाधान गर्ने गरी सरकारी निकायले अलि बढी मिहिनेत गर्ने हो भने मागअनुसार उत्पादन गर्न सम्भव छ ।’ कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रकुमार मिश्रले धानखेती गर्ने जमिन मासिँदै गएकाले संरक्षणको आवश्यकता रहेको बताए ।

मधेशमा रोपाइँको अवस्था चिन्ताजनक
सबैभन्दा धेरै धानखेती हुने मधेशमा हालसम्म ५.०१ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि विभागले छ । जबकि मधेशमा सबैभन्दा बढी तीन लाख ८२ हजार चार सय ३३ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । कोशीमा १५.३३ प्रतिशत, बागमतीमा १२.५९ प्रतिशत, गण्डकी प्रदेशमा २३.६८ प्रतिशत, लुम्बिनी प्रदेशमा २०.८० प्रतिशत, कर्णालीमा २२.८१ प्रतिशत र सुदूरपश्चिममा ९.२६ प्रतिशत मात्र रोपाइँ सकिएको विभागले जनाएको छ । यो वर्ष करिब १४ लाख हेक्टरमा रोपाइँको अनुमान गरेको विभागको अनुमान छ । साउन अन्तिमसम्म हुने रोपाइँका क्रममा देशभर १३ लाख ८२ हजार दुई सय ६२ हेक्टरमा रोपाइँको अनुमान गरिएको छ ।

सुके खोलानाला, रोपाइँ गर्न समस्या
धान उत्पादनको पकेट जिल्ला कैलालीमा अत्यधिक गर्मी र लामो समयदेखि पर्याप्त पानी नपर्दा रोपाइँ गर्न समस्या भएको छ । मध्यअसारसम्म अधिकांश किसानका खेत बाँझै छन् । खडेरीले खोलानाला पनि सुकेका छन् । स्यालोट्युबेल, बोरिङ र पम्पसेटबाट रोपाइँ भएका ठाउँमा रोपो जोगाउन मुस्किल छ । पानी नपर्दा रोपेको धान सुक्न थालेको छ । ‘बोरिङबाट रोपाइँ त गरिरहेका छौँ, तर खडेरीले रोपो सुकेको छ,’ भजनी नगरपालिका– ४, धनौराका किसान रामनारायण चौधरीले भने, ‘आइतबार राति परेको थोरै पानीले केही राहत भएको छ ।’

धनगढीमा धेरैजसो किसान रोपाइँका लागि अकाशे पानी कुरिरहेका छन् । धनगढी–६, का किसान डम्बर खड्काले पानी नपर्दा रोपाइँ गर्न नपाएको बताए । कृषि ज्ञान केन्द्रले भने स्यालो ट्युबेल, बोरिङ, पम्पसेट र सिँचाइ प्रणालीबाट करिब ४० प्रतिशत रोपाइँ सकिएको दाबी गरेको छ । पानी नपर्दा रोपो भने सुक्न थालेको केन्द्रका कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले बताए । कैलालीमा करिब ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । ज्ञान केन्द्रले करिब आधा क्षेत्रमा सिँचाइ सुविधा पुगेको जनाएको छ । लामो समयदेखि पानी नपर्दा कैलालीमा केही समययता गर्मी अत्यधिक बढेको छ ।

सल्यानमा ४५ प्रतिशत मात्र रोपाइँ
समयमै मनसुन सक्रिय नहुँदा सल्यानमा धान रोपाइँ प्रभावित भइको छ । गत वर्ष असारको दोस्रो सातासम्म ६० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेकोमा यो वर्ष ४५ प्रतिशत मात्र सम्पन्न भएको छ । गत वर्षको तुलनामा कम रोपाइँ भए पनि बर्सात हुँनासाथ ह्वात्तै बढ्ने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए । किसानले खेत तयार पारे पनि पानीको मुहानआसपासमा मात्र धानखेती गर्न सकेको आचार्यको भनाइ छ । शारदा नदीआसपास, सिद्ध कुमाख, दार्मा, त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाका केही क्षेत्रमा मात्र खेती भएको छ । ६ हजार २९ हेक्टरमा वर्षे धान खेती हुँदै आइरहेको सल्यानमा हालसम्म दुई हजार सात सय हेक्टरमा मात्र खेती भएको कार्यालयले जनाएको छ । गत वर्ष{ सल्यानमा ६ हजार २९ हेक्टर क्षेत्रफलमा धानखेती हुँदा २८ हजार नौ सय ५८ मेट्रिकटन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया