पोखरा / सरकारी अस्पतालमा नेपाल सरकारले तोकेको स्वास्थ्य बिमा कार्यक्रम लागु हुन नसक्दा पोखराको लेखनाथमा रहेको गण्डकी आयुर्वेद अस्पतालका सेवाग्राही मारमा परेका छन् । आयुर्वेदिक उपचार पद्धतिमा जनविश्वास बढ्दै जाँदा अस्पतालमा आउने बिरामीको सङ्ख्या पनि उल्लेख्य रूपमा वृद्धि हुन थालेको छ तर स्वास्थ्य बिमा लागु नहुँदा कतिपय बिरामी उपचार नै नगरी अस्पतालबाट फर्किने गरेका छन् ।
पोखरा महानगरपालिका–१४, खाल्टेमसिनाका चित्रबहादुर गुरुङ बिमा कार्ड बोकेर अस्पताल आउँदा सेवा नपाउने बताउनुहुन्छ । गण्डकी अस्पतालमा बिमाले काम गरे जस्तै गण्डकी आयुर्वेद अस्पतालमा पनि स्वास्थ्य बिमा लागु हुनुपर्ने उहाँको अपेक्षा छ । त्यस्तै कृष्णप्रसाद तिवारीले केही सहुलियत होला भनेर बिमा गरिएको तर आयुर्वेदमा आउँदा बिमाले काम नगरेको बताउनुहुन्छ । करिब तीन वर्षदेखि उपचार गर्दै आउँदा खर्च बढी भएको भन्दै मध्यमस्तरका नागरिकलाई यहाँ बिमाबाटै सेवा सुविधा लागु भए राहत हुने तिवारी बताउनुहुन्छ ।
उहाँहरू स्वास्थ्य बिमा हुँदाहुँदै पनि यस आयुर्वेद अस्पतालमा सेवा सञ्चालन नहुँदा समस्यामा परेका केही प्रतिनिधि पात्र हुनुहुन्छ ।
गण्डकी प्रदेश सरकारमातहतमा सञ्चालित यस अस्पतालमा आयुर्वेद चिकित्सा, विशेषज्ञ परामर्श, पञ्चकर्म, योग तथा प्रयोगशाला सेवासमेत उपलब्ध छन् तर स्वास्थ्य बिमा कार्यक्रम लागु नभएका कारण अस्पतालमा आउने बिमित नागरिकले आफ्नो बिमा कार्ड प्रयोग गर्न पाएका छैनन् । त्यसकारण सेवाग्राहीले उपचार, परीक्षण तथा अन्य सेवाका लागि प्रत्यक्ष नगद खर्च गर्न बाध्य भएको अस्पतालका प्रमुख डा. शङ्कर गौतमले जानकारी दिनुभयो ।
सामान्य ल्याब टेस्टका निम्ति पनि सेवाग्राही गण्डकी अस्पताल जाने तर त्यही सुविधा यही उपलब्ध रहेकोमा स्वास्थ्य बिमा कार्यक्रम नागरिक मर्कामा परेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुलीले बताउनुभयो । सरकारले नागरिकलाई बिमा कार्यक्रममा आबद्ध हुन प्रोत्साहित गरिरहेको छ तर सरकारी आयुर्वेद अस्पतालमै बिमाको सुविधा उपलब्ध नहुँदा नागरिकमा असन्तुष्टि बढ्दै गएको उहााले बताउनुभयो ।
आयुर्वेद सेवामा पहुँच घट्दै
नेपालमा नसर्ने रोग, जीवनशैलीजन्य रोग, मानसिक तनाव, मोटोपन, मधुमेह, उच्च रक्तचाप तथा जोर्नीका समस्या बढिरहेका छन् । यस्ता रोगको व्यवस्थापनमा आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण बढ्दो छ तर आयुर्वेद अस्पतालमा स्वास्थ्य बिमा सुविधा नहुँदा आर्थिक रूपमा कमजोर वर्गका नागरिक उपचार लिनबाट वञ्चित हुने अवस्था देखिएको छ । धेरै बिरामीले बिमा लागु भएका अस्पताल रोज्ने भएकाले आयुर्वेद सेवाको उपयोगमा समेत असर परेको अस्पताल प्रमुख डा. गौतमले बताउनुभयो ।
नेपाल सरकारले परम्परागत तथा आयुर्वेद चिकित्सा प्रणालीलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको अभिन्न अङ्गका रूपमा विकास गर्ने नीति लिएको उल्लेख गर्दै उहाँले सङ्घीय तथा प्रदेश सरकारले आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र तथा पञ्चकर्म सेवाको विस्तारमा लगानी गरिरहेको जानकारी दिनुभयो ।
प्रदेशकै प्रमुख आयुर्वेद अस्पतालमा बिमासेवा लागु भएमा नागरिकलाई आर्थिक सुरक्षा अस्पतालको सेवा पहुँच बढ्नुका साथै आयुर्वेद स्वास्थ्य सेवाप्रतिको जनविश्वास र उपयोगिता पनि उल्लेखनीय रूपमा वृद्धि हुने प्रमुख डा. गौतमको भनाइ छ ।






