नेपालगन्ज / बर्दियाको बाँसगढी नगरपालिका–८ लक्ष्मनाका आनन्द ढुंगानाले बिहीबार पत्नीलाई उपचार गराउन भेरी अस्पतालमा पुर्याए। स्वास्थ्य बिमा भएकाले उनले सोही प्रक्रियाअनुसार उनले उपचारका लागि टिकट लिए। स्वास्थ्य बिमामार्फत पत्नीको स्वास्थ्य जाँच गराएका ढुंगानाले चिकित्सकले लेखेबमोजिमका औषधि अस्पतालको फार्मेसीबाट पाएनन्।
‘स्वास्थ्य बिमाअन्तर्गत उपचार प्रक्रिया थालेपछि हामीले आवश्यकताअनुसारको अस्पतालको फार्मेसीबाट औषधि पनि पाउनुपर्ने हो तर नपाएर निजी मेडिकलमा किन्नुपर्यो, अहिले मात्र होइन, यसअघि पनि यसरी नै किन्नुपर्थ्याे’, उनले भने।
ढुंगानाले स्वास्थ्य बिमामार्फत पहिलो पटक पत्नीको उपचार गराएको तर औषधि अस्पतालको फार्मेसीमा नपाएको सुनाए। सरकारले स्वास्थ्य बिमाअन्तर्गत बिमितको उपचारका लागि भेरी अस्पताललाई पनि तोकेको छ।
सरकारले स्वास्थ्य बिमा गराएर सेवाग्राहीलाई यसरी झुक्याउन नहुने उनको सुझाव छ। ‘सरकारले स्वास्थ्य बिमामार्फत सेवाग्राहीले पाउने औषधि निर्धारण गरिदिनुपर्छ, निर्धारण गरेको औषधी अस्पतालको फार्मेसीमा छ कि छैन अनुगमन गर्नुपर्छ’, उनले भने, ‘सेवाग्राहीले औषधि पाएनपाएको पनि अनुगमन हुनुपर्छ।’
स्वास्थ्य बिमासँग जोडिएका प्रायः सेवाग्राहीको यस्तै गुनासो र सुझाव हुने गरेको ढुंगाना बताउँछन्। कतिपयले बिमा भए पनि निजी प्रयोगशालामा जचाउनुपरेको उनले बताए।
नेपालगन्ज उपमहानगरपालिका–९ की पुष्पा शुक्लाको पुरै परिवार स्वास्थ्य बिमासँग जोडिएको तीनचार वर्ष भइसकेको छ। बिमामार्फत भेरी अस्पतालबाट उनीहरुले उपचार सेवा लिने गरेका छन् तर उनको परिवार बिमाको उपचार पद्धतिमा सन्तुष्ट छैन। अस्पतालमा स्वास्थ्य बिमाअन्तर्गतको उपचार सेवा, सुविधा अधुरो रहेको पुष्पाले बताइन्। ‘हामी परिवारका सबै सदस्यले स्वास्थ्य बिमा गराएका छौं तर उपचार सुविधा पूरा पाउँदैनौं’, उनले भनिन्, ‘बिमाअन्तर्गत पाउनुपर्ने औषधि आधा मेडिकल पसलमा किन्नुपर्ने बाध्यता छ।’
भेरी अस्पतालमा बिहीबार घाँटीसम्बन्धी समस्या लिएर उपचार गर्न पुगेकी पुष्पाले प्रयोगशाला परीक्षण पनि एकदमै असहज र अव्यावहारिक रहेको सुनाइन्। स्वास्थ्य बिमामार्फत उपचार गराउँदा सुविस्ताभन्दा कष्ट बढी हुने सेवाग्राही सुनाउँछन्। अस्पतालम स्वास्थ्य बिमाका लागि छुट्टै कक्ष राखिएको छ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल भने स्वास्थ्य बिमामार्फतको उपचार प्रक्रियालाई सहज बनाइएको दाबी गर्छन्। स्वास्थ्य बिमा बोर्डले अस्पताललाई उपचार गरेवापत दिनुपर्ने रकम पर्याप्त नदिदाँ उपचार प्रक्रियामा बेलाबखत केही समस्या भने आउने गरेको उनले सुनाए। ‘अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट पाउनुपर्ने रकम पाएको छैन, जसले गर्दा हामीले औषधि सप्लायर्स कम्पनीहरुलाई रकम भुक्तानी गर्न सकेका छैनौं’, दर्नालले भने, ‘हामीले रकम भुक्तानी गर्न नसक्दा औषधि सप्लायर्स कम्पनीले पनि पर्याप्त औषधि दिन सकिरहेका छैनन्।’
डा. दर्नालका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्मको हिसाबमा मात्रै अस्पताले औषधि सप्लार्य कम्पनीलाई १८ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने छ। ‘चालु आर्थिक वर्ष २०८२/८३ को त हिसाब हुन नै बाँकी छ’, उनले भने।
बोर्डबाट समयमै रकम भुक्तानी नपाउँदा अस्पतालको सेवा पनि प्रभावित हुने गरेको अस्पतालले जनाएको छ। बोर्डले समयमा रकम भुक्तानी नदिदाँ अत्यावश्यक स्वास्थ्य सामग्री र औषधी खरिद गर्न तथा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या भएको एक कर्मचारीले बताए।






