उचित मूल्य नपाएपछि किसानले सडकमा फाले भण्टा
शिक्षाखबर डेस्क
२२ असार २०८३, सोमबार
no immg

सुलीकोट / गोरखाको गण्डकी गाउँपालिका–७ र ८ घ्याल्चोकका व्यावसायिक तरकारी किसान उत्पादनले उचित मूल्य नपाउँदा गम्भीर समस्यामा परेका छन्। लागतसमेत नउठ्ने गरी व्यापारीले मूल्य तोकेपछि केही किसानले विरोधस्वरूप सडकमा भण्टा फाल्न थालेका छन् भने बोडी बारीमै छोड्न बाध्य भएका छन्।

स्थानीय किसान देवन्द्र भुजेलले दुई क्विन्टल भण्टा बजार पठाउन टिपाइ, बोरा तथा अन्य खर्च गरी करिब ६८० रुपियाँ खर्च गरे पनि व्यापारीले प्रतिकेजी ५ रुपियाँ मात्र दिने बताएपछि सडकमा भण्टा फालेको बताउनुभयो। उहाँका अनुसार दुई क्विन्टल भण्टा बिक्री गर्दा जम्मा १,२०० रुपियाँ मात्र आम्दानी हुने अवस्था रहेकाले लागतसमेत नउठ्ने भएपछि यस्तो निर्णय लिनुपरेको हो।

२०७६ सालदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका भुजेलले यस वर्ष ४ रोपनी ८ आनामा भण्टा खेती गर्नुभएको छ। भण्टासँगै बोडी र काँक्रोको मूल्य पनि निकै घटेकाले किसान थप चिन्तित बनेका छन्। काँक्रो प्रतिकेजी १० रुपियाँ र बोडी ५ देखि १२ रुपियाँसम्ममा मात्र बिक्री भइरहेको उहाँले बताउनुभयो।

घ्याल्चोकका अर्का किसान ईश्वर अधिकारीले पनि लागत नउठ्ने मूल्य पाएपछि बारीबाट टिपेको बोडी सडकमा फाल्दै असन्तुष्टि जनाउनुभएको छ। गत वर्ष यही समयमा प्रतिकेजी १८० रुपैयाँसम्म बिक्री भएको बोडी यस वर्ष अत्यन्तै न्यून मूल्यमा झरेपछि किसान निराश बनेका छन्।

तीन दशकदेखि व्यावसायिक तरकारी उत्पादनका लागि परिचित घ्याल्चोकबाट काठमाडौंसम्म तरकारी आपूर्ति हुँदै आएको छ। तर यस वर्ष बजार मूल्यमा आएको गिरावटले किसानको मेहनत खेर जाने अवस्था सिर्जना भएको छ। मल अभाव, उत्पादन लागत वृद्धि र बजारमा उचित मूल्य नपाउने समस्याले खेतीप्रतिको उत्साह घट्दै गएको किसानहरूको भनाइ छ।

किसानहरूले सरकारले लागतका आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरी उत्पादनको सुनिश्चित बजार व्यवस्थापन गर्न माग गरेका छन्। अन्यथा व्यावसायिक तरकारी खेती नै संकटमा पर्ने चेतावनी उनीहरूको छ।

प्रतिक्रिया