काठमाडौँ / स्वीट्जरल्यान्डमा हुने रोबोटिक्स प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपालबाट ८ जना विद्यार्थी छानिएका छन् ।
स्वीट्जरल्यान्डको जेनेभामा हुने एआई फर गुड, रोबोटिक्स फर गुड युथ च्यालेन्स, २०२६ मा सहभागी हुन ती विद्यार्थीहरु छानिएका हुन् । प्रतियोगितामा सहभागी हुन सिनियर समूहबाट ४ जना र जुनियर समूहबाट ४ जना छानिएका हुन् ।
रोबोटिक्स एसोसियसन अफ नेपालका अध्यक्ष इन्जिनियर विकास गुरुङ्का अनुसार जुनियर समूहतर्फ रिद्धि मानन्धर,आरोन भट्ट, निर्भाना सिंह रायमाझी, सिवाली पराजुली छनोट भएका छन् ।
त्यस्तै, सिनियर समूहतर्फ आरव गौतम, सुषान्त गौतम, समीप खतिवडा, अब्रिया श्रेष्ठ छनोट भएका छन् । प्रतियोगीहरु आइतबार स्वीट्जरल्याण्ड प्रस्थान गरिसकेका छन् ।
विद्यार्थीसँगै दुवै समूहको लागि एक एक जना मेन्टर र एक जना व्यवस्थापक पनि स्वीट्जरल्याण्ड प्रस्थान गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिता जुलाई ७ देखि ११ सम्म सञ्चालन हुनेछ । नेपालले गत वर्ष यसै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जुनियरतर्फ रजत पदक (दोस्रो स्थान) तथा सिनियरतर्फ कांस्य पदक (तेस्रो स्थान) जित्न सफल भएको थियो ।
यस वर्षको राष्ट्रिय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शनका आधारमा टोली छनोट गरिएको एसोसियसनले जनाएको छ ।





