रोपाइँको बेला झरी, किसानमा खुसीयाली
शिक्षाखबर डेस्क
२९ असार २०८३, सोमबार
no immg

सर्लाही / धान रोपाइँको मध्यसमयमा दुई दिनदेखि निरन्तर झरी परिरहँदा सर्लाहीसहित मधेश प्रदेशका किसान खुसी भएका छन् ।

यहाँ लामो प्रतिक्षापछि पर्याप्त आकाशे वर्षा हुँदा किसान खुसी भएका हुन् । पानी परेसँगै सबै फाँटमा धान रोपाइँ गर्न भ्याइनभ्याइ छ । लालबन्दी नगरपालिका –४, हरिभवनका किसान केदार कार्कीले लामो प्रतिक्षापछि प्रशस्त पानी पर्दा किसानलाई ठुलो राहत मिलेको बताउनुभयो । उहाँका अनुसार दुई दिनदेखि तीव्र रूपमा धान रोपाइँ भइरहेको छ ।

पानी परेपछि रोपिसकेको धानबालीलाई फाइदा पुगेको छ । यो पानीले रोपिसकेको धान फस्टाउन र गाँज हाल्न मद्दत पुग्ने किसानको भनाइ छ । प्रशस्त पानी परेसँगै अब सबैजसो भू–भागमा रोपाइँ हुने अवस्था आएको कृषि ज्ञान केन्द्र सर्लाहीका सूचना अधिकारी कविन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिल्लो हप्तासम्म ३० प्रतिशतको हाराहारीमा रोपाइँ भएको सर्लाहीमा झरी पर्न सुरु भएसँगै अब यो हप्ता अधिकांश भू–भागमा रोपाइँ हुने अनुमान गरिएको छ ।

सर्लाहीमा ४२ हजार ५०० हेक्टर जग्गामा धान खेती हुने अनुमान छ । शुक्रबार र शनिबार रातिको भारी वर्षापछि सर्लाहीको बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमती लगायतका खोलामा प्रशस्त पानी बगिरहेको छ ।

अघिल्लो हप्तासम्म सुक्खा रहेको खोला, नहर, कुलोमा अहिले प्रशस्त पानी हुँदा किसानलाई तत्कालका लागि सिँचाइको समस्या टरेको छ ।

प्रतिक्रिया