विस्तार हुँदै क्यान्सरको जोखिम: सहर मात्र होइन, अब गाउँ-गाउँमा पनि नसर्ने रोगको भयावह प्रकोप
शिक्षाखबर डेस्क
१ श्रावण २०८३, शुक्रबार
no immg

उदयपुर / नेपालमा क्यान्सरलगायतका नसर्ने रोगहरूको जोखिम सहरिया कोलाहलमा मात्र सीमित नरही अब दुर्गम ग्रामीण भेगहरूमा पनि तीव्र रूपमा विस्तार भइरहेको छ। कुनै समय क्यान्सरजस्ता जटिल रोगका बिरामीहरू शून्य रहेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्लो समय क्यान्सर र अन्य दीर्घकालीन नसर्ने रोगहरूको प्रकोप डरलाग्दो रूपमा बढिरहेको तथ्याङ्कले देखाएको छ। गाउँपालिकाका पाँचवटै वडाहरूमा हालै गरिएको वृहत् स्वास्थ्य परीक्षणले यो भयावह यथार्थलाई उजागर गरेको हो। परीक्षणका क्रममा ग्रामीण क्षेत्रका नागरिकहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी गम्भीर दीर्घ रोगका बिरामीहरू उल्लेख्य संख्यामा भेटिएका छन्, जसले ग्रामीण स्वास्थ्य क्षेत्रमा नयाँ र गम्भीर चुनौती थपेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख कर्णशेर राईले दिनुभएको आधिकारिक जानकारी अनुसार गत आर्थिक वर्षमा मात्रै गाउँपालिकामा १४ जना नयाँ क्यान्सरका बिरामी पुष्टि भएका छन्। जसमा पाँच जना महिला र आठ जना पुरुष रहेका छन्। क्यान्सर सङ्क्रमितहरूको उमेर समूह मुख्यतया उत्पादक र पाको उमेर (४५ देखि ७५ वर्ष) का छन्। शाखा प्रमुख राईका अनुसार वि.सं. २०७९ देखि २०८१ सम्मको दुई वर्षको अवधिमा क्यान्सरकै कारण गाउँपालिकाका सात जना नागरिकको मृत्यु भइसकेको छ। पुष्टि भएका बिरामीहरूमध्ये सबैभन्दा बढी आठ जनामा पेटको क्यान्सर देखिएको छ भने तीन जनामा मुखको क्यान्सर, दुई जनामा मलद्वारको क्यान्सर र एक जनामा जिब्रोको क्यान्सर पहिचान भएको छ। गाउँपालिकाले पाँचवटै वडामा सञ्चालन गरेको नसर्ने रोग परीक्षण अभियान अन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका कुल एक हजार ५२8 जना नागरिकको स्वास्थ्य परीक्षण गरेको थियो। जसमा ८६२ जना महिला र ६६६ जना पुरुष सहभागी थिए। परीक्षण गरिएकामध्ये १८ जनामा मधुमेह, १९ जनामा सिओपिडी र तीन प्रतिशतमा अधिक तौलको समस्या फेला परेको छ। पछिल्ला वर्षहरूमा ग्रामीण क्षेत्रमा पनि नसर्ने रोगका बिरामीहरू लगातार बढ्दै जानु चिन्ताको विषय भएको बताउँदै उहाँले नियमित स्वास्थ्य परीक्षण, स्वस्थ खानपान, शारीरिक सक्रियता तथा सुर्तीजन्य पदार्थ र मदिरा सेवनमा पूर्ण नियन्त्रण गर्न सके यस्ता रोगको जोखिमलाई धेरै हदसम्म घटाउन सकिने सुझाव दिनुभएको छ।

राष्ट्रिय स्तरको तथ्याङ्कलाई हेर्दा पनि स्थिति निकै गम्भीर देखिन्छ। सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको जनसङ्ख्यामा आधारित क्यान्सर अध्ययन अनुसार नेपालमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ। अध्ययन गरिएका काठमाडौँ उपत्यका, रुकुम, सिराहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाहरूका सबै क्षेत्रमा फोक्सोको क्यान्सर नै प्रमुख क्यान्सरका रूपमा पाइएको छ। महिलाहरूको हकमा सहरी क्षेत्रमा स्तन क्यान्सर र ग्रामीण क्षेत्रमा पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ। यसका साथै पेट र पित्तथैलीको क्यान्सर पनि अधिकांश क्षेत्रमा पुरुष र महिला दुवैमा साझा रूपमा देखिएको छ। परिषद्का प्रमुख अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले जनसङ्ख्यामा आधारित क्यान्सरसम्बन्धी अध्ययनले नेपालमा क्यान्सर रोग गम्भीर जनस्वास्थ्य समस्याका रूपमा तीव्र गतिमा बढ्दै गएको देखाएको जानकारी दिनुभयो। परिषद्को अध्ययन अनुसार नेपालमा प्रत्येक वर्ष करिब २६ हजार नयाँ क्यान्सरका बिरामीहरू थपिने र करिब १९ हजार जनाको क्यान्सरकै कारण मृत्यु हुने अनुमान गरिएको छ। डा. धिमालले काठमाडौँ उपत्यकामा नयाँ क्यान्सर बिरामीको दर अन्य अध्ययन क्षेत्रको तुलनामा बढी देखिएको जानकारी दिनुभयो।

नेपालमा क्यान्सरसम्बन्धी भरपर्दो राष्ट्रिय तथ्याङ्कको चरम अभाव रहेकाले स्वास्थ्य मन्त्रालयको समन्वयमा सन् २०१८ देखि जनसङ्ख्यामा आधारित क्यान्सर रजिस्ट्री सञ्चालन गरिएको थियो। यस रजिस्ट्रीमा काठमाडौँ उपत्यका, रुकुम तथा सिराहा, सप्तरी, धनुषा र महोत्तरी गरी नौ जिल्लाका करिब २० दशमलव ५ प्रतिशत जनसङ्ख्यालाई समेटिएको छ। प्रतिवेदनले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, स्वास्थ्य मन्त्रालयमा छुट्टै र सुदृढ क्यान्सर शाखा स्थापना गर्न, सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणलाई कडा बनाउन, स्तन तथा पाठेघरको मुखको क्यान्सरको नियमित परीक्षण र प्रारम्भिक पहिचान कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गर्न तथा ग्रामीण क्षेत्रमा प्रारम्भिक परीक्षण केन्द्रहरू स्थापना गर्न जोडदार सुझाव दिएको छ। क्यान्सरका बिरामीको अभिलेख व्यवस्थित बनाउन डिजिटल प्रणालीको विकास गर्न र मृत्यु दर्ता प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि प्रतिवेदनले औँल्याएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले नसर्ने रोग नियन्त्रणलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो। सुर्तीजन्य पदार्थको सेवन, मदिरा पिउने बानी, असन्तुलित खानपान, शारीरिक श्रमको कमी तथा वायु प्रदूषण क्यान्सरका प्रमुख कारण भएको बताउँदै उहाँले यी प्रमुख कारणहरूलाई नियन्त्रण गर्न सके क्यान्सरको जोखिम धेरै हदसम्म घटाउन सकिने जानकारी दिनुभयो। अध्ययनले क्यान्सरको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, जनचेतना अभिवृद्धि, उपचार सेवाको विस्तार तथा रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको छ। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा अञ्जनीकुमार झाले सुर्तीजन्य पदार्थको सेवन नगर्न, स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित भोजन गर्न, नियमित व्यायाम गर्न तथा जोखिममा रहेका व्यक्तिले समय-समयमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिनुभएको छ। उहाँले पछिल्लो समय ग्रामीण क्षेत्रमा क्यान्सरका बिरामीहरू धेरै संख्यामा देखिनुलाई समयमै रोगको पहिचान र क्यान्सरसम्बन्धी जनचेतनाको विकास भएको सकारात्मक संकेतका रूपमा पनि व्याख्या गर्नुभयो। क्यान्सर समयमै पत्ता लागे उपचारको सफलता दर उल्लेखनीय रूपमा बढ्ने र मृत्युको जोखिम घट्ने उहाँको दाबी छ।

प्रतिक्रिया
सम्बन्धित खबर