ललितपुर महानगरपालिकाद्वारा विभिन्न पदमा कर्मचारी आह्वान: साउन ८ गतेसम्म दरखास्त दिन सकिने
शिक्षाखबर डेस्क
१ घण्टा अगाडि
no immg

ललितपुर / ललितपुर महानगरपालिकाले आफ्ना विभिन्न शाखा तथा सेवा सुदृढीकरणका लागि करार सेवामा कर्मचारी पदपूर्तिको सूचना जारी गरेको छ। महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, पुल्चोकले प्रथम पटक सूचना प्रकाशित गर्दै पाँचौँ, चौथो र तहविहीन पदहरूका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातसहित २०८३ साउन ८ गतेभित्र दरखास्त फारम बुझाउनुपर्नेछ

महानगरपालिकाले महानगरबाट सञ्चालित चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवाका लागि पाँचौँ तहको हेल्थ असिस्टेन्ट पदमा खुल्ला, महिला, आदिवासी जनजाति र स्थानीय कोटा गरी कुल ३ जना जनशक्ति मागेको छ। यसैगरी पाँचौँ तहकै कम्प्युटर अपरेटर पदमा खुल्ला, स्थानीय र महिला गरी २ जना, चौथो तहको तामेलदार पदमा १ जना, तहविहीन हेभी सवारी चालक पदमा २ जना तथा हलुका सवारी चालक पदमा खुल्ला, स्थानीय, महिला र आदिवासी जनजाति कोटा गरी कुल ७ जना कर्मचारीका लागि आवेदन खुलाइएको छ। हेल्थ असिस्टेन्ट पदका लागि सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तीर्ण भई नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌मा दर्ता भएको हुनुपर्नेछ भने एम्बुलेन्स आकस्मिक चिकित्सकीय प्राविधिक तालिम प्राप्त स्वास्थ्यकर्मीलाई विशेष प्राथमिकता दिइनेछ। यस्तै, कम्प्युटर अपरेटरका लागि कम्प्युटर विषय लिई प्रविणता प्रमाणपत्र तह वा ६ महिनाको कम्प्युटर तालिमप्राप्त, तामेलदारका लागि एसइई उत्तीर्ण, हेभी सवारी चालकका लागि साधारण लेखपढसहित कम्तीमा ५ वर्षको अनुभव र हलुका सवारी चालकका लागि ‘एफ’ वर्गको सवारी चालक अनुमतिपत्रसहित ५ वर्षको अनुभव हुनुपर्ने न्यूनतम योग्यता तोकिएको छ

आवेदन दिने उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। दरखास्त दस्तुरबापत पाँचौँ तहका लागि सात सय रुपियाँ तथा चौथो र तहविहीन पदका लागि पाँच सय रुपियाँ तोकिएको छ भने प्रत्येक समावेशी समूहका लागि थप एक सय पचास रुपियाँ बुझाउनुपर्नेछ। छनोट प्रक्रियाअन्तर्गत पद अनुसार लिखित, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा लिइनेछ। ललितपुर महानगरपालिकाका स्थायी बासिन्दा र अनुभवी उम्मेदवारलाई विशेष प्राथमिकता दिइने र छनोट भएका कर्मचारीको करार अवधि २०८३ पुस मसान्तसम्म रहने महानगरपालिकाले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित खबर