धनगढीमा डा. गोविन्द केसीको २४औँ सत्याग्रह: स्वास्थ्य जटिल बनेपछि आईसीयूमा राख्न सुझाव, स्थानीयको प्रदर्शन
शिक्षाखबर डेस्क
१ घण्टा अगाडि
no immg

धनगढी / नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको माग गर्दै वरिष्ठ चिकित्सक प्राध्यापक डा. गोविन्द केसीले कैलालीको धनगढीमा सुरु गर्नुभएको २४औँ सत्याग्रहका विषयमा मिश्रित प्रतिक्रिया आइरहेको छ। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नुपर्ने, र स्वार्थप्रेरित भई गरिएका उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखेर डा. केसीले अनशन जारी राख्नुभएको हो। यता, अनशनरत डा. केसीको स्वास्थ्य अवस्था क्रमिक रूपमा जटिल बन्दै गएको छ। सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालका अनुसार डा. केसीको रक्तचाप ११०/९० मा झरेको छ भने रगतमा चिनीको मात्रा (शुगर लेभल) ५० मा सीमित भएको छ। स्वास्थ्य जोखिम बढेकाले चिकित्सकहरूले उहाँलाई तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयू (ICU) मा भर्ना गरी उपचार गर्न सुझाव दिए पनि डा. केसीले भने यसबारे विचार गर्ने प्रतिक्रिया दिनुभएको छ।

धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाको कोठा नम्बर २११ बाट सत्याग्रह सुरु गर्नुभएका डा. केसीलाई धर्मशाला सञ्चालक समितिले कोठा छाड्न औपचारिक पत्र नै थमाइसकेको छ। अनशन जारी रहेपछि आज धर्मशाला बाहिर स्थानीय नागरिक तथा प्रदर्शनकारीहरूले डा. केसीविरुद्ध प्रदर्शन गरेका छन्। बल्लबल्ल शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३०० शय्याको अस्पताल सञ्चालन र चिकित्सा शिक्षाको अध्ययन सुरु हुन लागेका बेला डा. केसीको अनशनले प्रक्रिया नै बिथोलिने र अन्योल सिर्जना हुने आशङ्का गर्दै अधिकांश सुदूरपश्चिमबासीले विरोध जनाएका हुन्। सामाजिक सञ्जाल तथा प्रदर्शनस्थलमा स्थानीयहरूले डा. केसीको यो अनशन विगतको जस्तो नभई ‘अमुक स्वार्थसमूह’ को प्रभावमा परेर विश्वविद्यालय सञ्चालनमा अवरोध पुर्‍याउने नियतले गरिएको आरोपसमेत लगाएका छन्।

उता, सरकारले भने डा. केसीले उठाएका मागहरू सम्बोधन गर्न आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि एवम् खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसी र उहाँका सहयोगीहरूसँग टेलिफोन संवाद गर्दै माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको र वार्ताका लागि तत्काल सरकारी टोली गठन गर्ने आश्वासन दिइसक्नुभएको छ। सरकारले माग सम्बोधनको प्रतिबद्धता जनाइसक्दा पनि अनशन नतोडिएको र यसले विश्वविद्यालयको भविष्य नै अनिश्चित बनेको भन्दै स्थानीयले अनशन फिर्ता लिन माग गर्दै प्रदर्शन जारी राखेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर