कञ्चनपुर / मनसुनको सक्रियतासँगै सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम तीव्र रूपमा बढेको छ। चालु आर्थिक वर्षको पछिल्लो छ महिना (जनवरीदेखि जुनसम्म) को अवधिमा मात्रै जिल्लाभर २8 जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ। सुदूरपश्चिम प्रदेशका कुल नौवटा जिल्लाहरूमध्ये सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमै भेटिएपछि स्थानीय स्वास्थ्य निकायहरूले उच्च सतर्कता अपनाउन र समुदायस्तरमा रोकथामका गतिविधिहरूलाई तत्काल प्रभावकारी बनाउन आम नागरिकमा विशेष आग्रह गरेका छन्।
स्वास्थ्य कार्यालयका औलो निरीक्षक तथा कीटजन्य रोग सम्पर्क व्यक्ति (फोकल पर्सन) सिद्धराज भट्टले सार्वजनिक गर्नुभएको आधिकारिक तथ्याङ्क अनुसार जनवरीमा पाँच, फेब्रुअरीमा छ, मार्चमा पाँच, अप्रिलमा सात, मेमा दुई र जुनमा तीन जना गरी कञ्चनपुरमा २८ जनामा सङ्क्रमण देखिएको हो। यही ६ महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशभर कुल ७० जनामा सङ्क्रमण पुष्टि भएको छ, जसमा कञ्चनपुरपछि अछाममा १३, कैलालीमा १०, डडेल्धुरामा आठ, बझाङमा छ, डोटीमा तीन तथा दार्चुला र बैतडीमा एक–एक जना सङ्क्रमित फेला परेका छन्। डेङ्गु ‘एडिस एजिप्टाई’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग भएकाले र यसले प्रायः सफा एवं जमेको पानीमा फुल पार्ने तथा दिउँसो बढी सक्रिय रहने हुँदा घर, विद्यालय, कार्यालय र सार्वजनिक स्थल वरपर पानी जम्न नदिन विशेष ध्यान दिन आवश्यक रहेको भट्टले बताउनुभयो। डेङ्गुका चार प्रकारका विषाणु हुने र दोस्रोपटक हुने फरक प्रकारको सङ्क्रमण अझ जटिल र ज्यान लिने खालको हुने भएकाले थप सचेत रहन उहाँको सुझाव छ।
डेङ्गुको सङ्क्रमणकाल सामान्यतया तीनदेखि १० दिनसम्म रहने गर्दछ। सङ्क्रमण भएपछि १०२ देखि १०३ डिग्री फरेनहाइटसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, पेट तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, शरीरमा राता बिमिरा देखिने तथा गम्भीर अवस्थामा आन्तरिक वा बाह्य रक्तस्रावसमेत हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ। शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले सङ्क्रमित व्यक्तिको समयमै परीक्षण र उपचार गर्न सके डेङ्गुबाट हुने मृत्युदरलाई दुई प्रतिशतभन्दा कममा सीमित गर्न सकिने स्पष्ट पार्नुभयो। उहाँका अनुसार शिशु, गर्भवती, ज्येष्ठ नागरिक, मोटोपन भएका व्यक्ति, दीर्घरोगी तथा अत्यधिक रक्तस्राव भएका बिरामीहरू डेङ्गुको उच्च जोखिममा पर्दछन्। उहाँले ज्वरो कम गर्न सुरक्षित रूपमा सिटामोल प्रयोग गर्न सकिने भए तापनि आइबुप्रोफेन र एस्पिरिन जस्ता कडा दुखाइ कम गर्ने औषधिहरू चिकित्सकको सल्लाहबिना कदापि प्रयोग नगर्न कडा चेतावनी दिनुभएको छ।
एउटा एडिस लामखुट्टेको आयु करिब ३० दिनको हुने र यस अवधिमा एउटा पोथी लामखुट्टेले ५०० देखि १,००० वटा सम्म अण्डा पार्न सक्ने वैज्ञानिक तथ्य छ। अझ डरलाग्दो कुरा त, सङ्क्रमित लामखुट्टेको अण्डाबाट जन्मिने नयाँ लामखुट्टेमा पनि डेङ्गुको विषाणु जन्मजात रहने गर्दछ। स्वास्थ्यकर्मी कृष्णराज जोशीका अनुसार डेङ्गु सार्ने लामखुट्टेका अण्डाहरू पानी नहुँदा वा खडेरी पर्दा पनि महिनौँसम्म जीवित रहन सक्छन्, त्यसैले पानी जम्न नदिनु नै यसको नियन्त्रणको सबैभन्दा प्रभावकारी कडी हो। नेपालमा पहिलोपटक वि.सं. २०६१ (सन् २००४) मा एक विदेशी नागरिकमा पुष्टि भएको यो रोग हाल जलवायु परिवर्तन, तीव्र सहरीकरण, कमजोर रोग निगरानी प्रणाली, समयमै परीक्षणको अभाव, बसाइँसराइ र समुदायको न्यून सहभागिताका कारण नियन्त्रण बाहिर जानु मुख्य चुनौती बनेको छ।
बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै कञ्चनपुरका नौवटै पालिकाहरूमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने (सर्च एन्ड डिस्ट्रोय) विशेष कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। यस राष्ट्रिय अभियानअन्तर्गत लार्भा नष्ट गर्नेसँगै व्यापक सरसफाइ, विद्यालय तथा समुदायमा जनचेतना अभिवृद्धि, समुदाय परिचालन तथा सरोकारवालाहरू बीच छलफल र गोष्ठीहरू तीव्र रूपमा सञ्चालन गरिनेछ। स्वास्थ्यकर्मीहरूले गमला, फूलदानी, ड्रम, पुराना टायर र प्लास्टिकका बट्टाहरू नियमित सफा गर्न, खानेपानीका ट्याङ्कीहरू सधैँ सुरक्षित रूपमा ढाकेर राख्न, घरका झ्यालढोकामा जाली लगाउन र दिउँसो सुत्दा पनि अनिवार्य रूपमा झुलको प्रयोग गर्न सर्वसाधारणमा जोडदार अपिल गरेका छन्।






