कास्की / गण्डकी प्रदेश, कास्की जिल्लास्थित अन्नपूर्ण गाउँपालिकाले आफ्ना स्वास्थ्य संस्थाहरूका लागि विभिन्न पदमा करार सेवामा कर्मचारी पदपूर्तिको पुनः सूचना प्रकाशित गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, माछापोखरीले दोस्रो पटक सूचना जारी गर्दै सेवा करारमा कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०८१ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो। यसअघि प्रकाशित विज्ञापनहरूमा पर्याप्त आवेदन नपरेको तथा राजस्व प्रणाली बन्द भई दरखास्त बुझाउन असुविधा भएकाले गाउँपालिकाले म्याद थप गरी पुनः आवेदन मागेको जनाएको छ।
गाउँपालिकाले सहायक चौथो तहको अ.न.मी. पदका लागि ३ जना, सहायक पाँचौँ तहको रेडियोग्राफर पदका लागि १ जना, र प्रथम स्तरको कार्यालय सहयोगी (का.स.) पदका लागि २ जना गरी कुल ६ जना जनशक्ति मागेको छ। न्यूनतम शैक्षिक योग्यतातर्फ अ.न.मी. पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मी. कोर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको, रेडियोग्राफरका लागि रेडियोग्राफी विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी काउन्सिलमा दर्ता भएको, र कार्यालय सहयोगीका लागि कम्तीमा एसइई वा सो सरह उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको छ। दरखास्त दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा फरक क्षमता भएका व्यक्तिको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।
दरखास्त दस्तुरबापत सहायक स्तरका पदहरूका लागि सात सय रुपियाँ तथा कार्यालय सहयोगीका लागि चार सय रुपियाँ र थप फारम शुल्क एक सय रुपियाँ तोकिएको छ। कार्यालय सहयोगी र रेडियोग्राफर पदका लागि २०८३ साउन ११ गते १ दिन मात्र र अ.न.मी. पदका लागि २०८३ साउन १४ गते कार्यालय समयसम्म दरखास्त बुझाउन सकिनेछ। छनोट भएका उम्मेदवारहरूले अन्नपूर्ण आधारभूत अस्पताल वा अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा काम गर्नुपर्नेछ भने उनीहरूको करार अवधि २०८३ पुस मसान्तसम्म रहने र कार्यसम्पादनका आधारमा म्याद थप हुनसक्ने अन्नपूर्ण गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ऋषिराम दाहालले जानकारी दिनुभएको छ।






