तनहुँमा एआई प्रविधियुक्त एक्स-रे मेसिनबाट क्षयरोगीको पहिचान: शिविरहरूमा ३ हजारको परीक्षण गर्दा १८० जनामा सङ्क्रमण पुष्टि
शिक्षाखबर डेस्क
५ भाद्र २०८३, शुक्रबार
no immg

तनहुँ । तनहुँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधियुक्त पोर्टेबल एक्स–रे मेसिनको प्रयोगले क्षयरोगका बिरामी पहिचानमा अभूतपूर्व सफलता मिलेको छ। आधुनिक प्रविधिको प्रयोग र नियमित स्वास्थ्य शिविर सञ्चालन गरिएपछि जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रसम्म पुगेर लुकेर रहेका क्षयरोगीहरू पत्ता लगाउन सहज भएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका विभिन्न आठ वटा क्षेत्रमा सञ्चालन गरिएको एआई प्रविधियुक्त एक्स–रे स्क्रिनिङ शिविरमार्फत कुल तीन हजार १२ जनाको छातीको परीक्षण गर्दा १८० जनामा क्षयरोगको सङ्क्रमण पुष्टि भएको छ।

परीक्षण गरिएका क्षेत्रहरूमध्ये व्यास नगरपालिकाको केशवटार स्वास्थ्य चौकीमा सबैभन्दा बढी एक हजार ४४५ जनाको जाँच गर्दा ९६ जनामा क्षयरोग फेला परेको छ। यसैगरी भानु स्वास्थ्य चौकीमा ३३९ जनामा ४३ जना, घिरिङको सुन्धारा स्वास्थ्य चौकीमा ५४८ जनामा २३ जना र ऋषिङको मौरीवास आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ३२६ जनामा १९ जनामा सङ्क्रमण पुष्टि भएको छ। देवघाटको कोटा स्वास्थ्य चौकीमा १४ जना, देवघाट धर्मार्थ अस्पतालमा छ जना, आँबुखैरेनीको सत्रसय आधारभूत स्वास्थ्य केन्द्रमा नौ जना र व्यासको चारकुने आधारभूत स्वास्थ्य केन्द्रमा नौ जनामा क्षयरोग देखिएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीका अनुसार एआईयुक्त डिजिटल एक्स–रे प्रविधिले स्वास्थ्य शिविरस्थलमै तत्काल र सटीक नतिजा दिने भएकाले शङ्कास्पद बिरामी पहिचान गर्न सहज भएको हो। समयमै रोग पहिचान गरी औषधी उपचारको दायरामा ल्याएर क्षयरोग नियन्त्रण गर्ने लक्ष्यका साथ स्थानीय तहहरूसँगको समन्वयमा यस अभियानलाई अझ प्रभावकारी बनाइने र पहिचान भएका सबै बिरामीहरूलाई नियमित औषधी सेवन गराई पूर्ण रूपमा निको पारिने उहाँले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित खबर