बर्दिबास सर्पदंश उपचार केन्द्रमा ‘एन्टिस्नेक भेनम’को गम्भीर अभाव: ५०० भाइल चाहिनेमा २०७ मात्र मौज्दात, उपचार सेवा प्रभावित हुने जोखिम
शिक्षाखबर डेस्क
९ भाद्र २०८३, मंगलवार
no immg

बर्दिबास । महोत्तरीसहित छिमेकी जिल्लाहरू र भारतसम्मका बिरामीहरूको भरपर्दो गन्तव्य रहेको बर्दिबास–३, गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा जीवनरक्षक ‘एन्टिस्नेक भेनम सिरम’ (एएसभीएस) को गम्भीर अभाव खड्किएको छ। गर्मी तथा वर्षायाममा सर्पदंशका बिरामीको चाप ह्वात्तै बढे तापनि टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आवश्यकताअनुसार औषधी आपूर्ति हुन नसक्दा केन्द्रको आपत्कालीन सेवा दबाबमा परेको हो। कम्तीमा ५०० भाइल औषधी मौज्दातमा राख्नुपर्ने यस केन्द्रमा पछिल्लो छ महिनादेखि मागभन्दा निकै कम मात्र आपूर्ति भइरहेको छ।

केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटाका अनुसार सोमबारसम्म केन्द्रमा २०७ भाइल मात्र औषधी मौज्दात रहेको छ, जसबाट बढीमा १० जना गम्भीर बिरामीको मात्र उपचार सम्भव हुन्छ। गएको साउन महिनामा मात्रै महोत्तरी, सिन्धुली, सोलुखुम्बु, रामेछाप, उदयपुर, सर्लाही र धनुषाका १३५ जना बिरामी भर्ना भएकामा विष फैलिएका सात जनाको उपचारमै २४५ भाइल औषधी खर्च भएको थियो। साउनमा विषालु सर्पको टोकाइबाट गम्भीर बनेका दुई बालकको उपचारका क्रममा मृत्यु भइसकेको छ। आर्थिक वर्ष २०८२/८३ मा ७७१ जना बिरामीको उपचार गर्दा ९२६ भाइल एएसभीएस खर्च भएको अभिलेख छ।

नेपाली सेनाको प्राविधिक सहयोगमा सञ्चालित यस केन्द्रमा निःशुल्क पाइने एन्टिस्नेक भेनमबाहेक अन्य ६९ प्रकारका सहयोगी औषधी र सामग्री खरिद गर्दा वार्षिक सात लाख रुपैयाँसम्मको अतिरिक्त वित्तीय भार परिरहेको छ। सिन्धुली, बर्दिबास, गौशाला लगायतका क्षेत्रबाट दैनिक नयाँ बिरामीहरू भर्ना हुने क्रम जारी रहेकाले औषधी आपूर्ति पूर्ववत् रूपमा सहज नभए आपत्कालीन उपचार सेवा पूर्ण रूपमा ठप्प हुनसक्ने चेतावनी दिँदै सरोकारवाला निकायहरूसँग तत्काल पर्याप्त एएसभीएस उपलब्ध गराउन आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै