काठमाडौँ — एसईई आउने दिन नजिकिँदा बैतडीकी उनी निधारको खत झलझली सम्झन्छिन् । आमाबुबा दुवै एचआईभी एड्सले गुमेपछि उनी फुपू नाता पर्नेको घरमा बस्थिन् । नजिकैको विद्यालयमा पढ्न गइन् । पाँच वर्षकी थिइन् ।
संक्रमित आमाबुबाबाट जन्मिएकी उनी पनि संक्रमित भएको विद्यालयका शिक्षक र विद्यार्थीले थाहा पाएपछि ढुंगाले हानेरै लखेटे । त्यसपछि उनी विद्यालय जानै छाडिन् । ढुंगा लाग्दा भएको चोटले निधारमा चन्द्रमा आकारको खत अझै छ ।
आठ वर्षकी हुँदा काठमाडौंको कीर्तिपुरस्थित बेबी लाइफ होमको संरक्षणमा आइपुगिन् । उनका साथी थिए दाङ पञ्चकुलेका दाजु–बहिनी । उनीहरू पनि संक्रमित नै थिए । एचआईभी संक्रमण भएकै कारण उनीहरूले पहिले आमा गुमाए, त्यसपछि बुबा बितेका थिए । बिचल्ली परेपछि उनीहरू पनि कीर्तिपुरको संरक्षण गृहमा आइपुगेका थिए । त्यस्तै दाङ गुरुङखोलाका अर्का एक बालक पनि बेबी लाइफ होमको आश्रयमा आइपुगे । १० वर्षअघि होमको सम्पर्कमा आउनेमा उनीहरूसहित १० जना थिए ।
लाइफ होमका संस्थापक अध्यक्ष राजकुमार पुन र उपाध्यक्ष उमा गुरुङ उनीहरूलाई नियमित उपचारसहित पढाउने स्कुलको खोजीमा निस्के । कीर्तिपुरका निजी र सामुदायिक विद्यालय सबै चहारे तर कसैले पढाउन चाहेनन् । ‘विद्यालयमा संक्रमितलाई पढाउँदा अरू विद्यार्थी घट्ने भन्दै कसैले पढाउन चाहेनन्,’ अध्यक्ष पुन भन्छन्, ‘यिनीहरूलाई पढाउन नपाएपछि पहिचानसहितको विद्यालयको लडाइँ सुरु गरें । धेरै संघर्षपछि उनीहरूका लागि विद्यालय खोल्न सक्यौं ।’ त्यही विद्यालयमा तीन कक्षाबाट पढ्न सुरु गरेका बैतडीकी बालिका र दाङका दुई बालक बिहीबारदेखि सुरु हुने एसईई परीक्षामा सहभागी हुँदै छन् ।
आमाबुबाको गल्तीले उनीहरू संक्रमित भए पनि विद्यालयको वातावरणले सबै भुलेका छन् । ‘यो निधारको चोट पढ्न जाँदा अबदेखि नआउनू भनेर ढुंगाले हान्दा लागेको थियो । एसईई दिने दिन जति नजिक आउँदै छ त्यति नै त्यो बेला पढ्न नपाएको कुरा सम्झेर पढ्न जाँगर लाग्छ,’ बालिकाले भनिन्, ‘मिहिनेत गरिराछु । अरूभन्दा नतिजा कमजोरचाहिँ ल्याउँदिनँ ।’
शनिबार अपराह्न संवाददाता विद्यालयमा पुग्दा दुई जना अनिवार्य गणित र अर्का बालक ऐच्छिक गणितको अभ्यास गरिरहेका थिए । उनीहरूले एसईईलाई असहज ठानेका छैनन् । ‘अहिले पनि परीक्षा दिइरहेका छौं । दिनहुँ परीक्षा दिइरहेकाले कुनै अप्ठ्यारो मानेका र आत्तिएका छैनौं,’ बालकले भने, ‘हामीले एसईईलाई सामान्य रूपमा लिएका छौं ।’ रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने एआरभी बिहान र बेलुका सेवन गर्दै बिहान ६ बजेदेखि बेलुका साढे ११ बजेसम्म उनीहरू पढाइमा घोटिन्छन् । कहिले एक्लाएक्लै पढ्छन्, कहिले तीन जना एउटै विषयमा छलफल गरेर पढ्छन् । उनीहरूले पनि समाधान गर्न नसके शिक्षकलाई सोध्छन् । उनीहरूको एसईईको तयारी यसरी नै चलिरहेको छ ।
तीन जनाकै नतिजाले पहिचानसहितको मुलुकको यो विद्यालय थप चिनिनेछ भने उनीहरूको कक्षाको अर्को तहको खुड्किलोमा जाने बाटो खुल्नेछ । संक्रमितलाई समाजले गर्ने विभेदलाई चिर्न पनि मिहिनेत गरेर पढिरहेको तीमध्येका एक बालक बताउँछन् ।
तीनमध्ये एक बालकको इन्जिनियर बन्ने लक्ष्य छ । कक्षा ११ मा पनि विज्ञान नै पढ्ने धोको छ । विज्ञान अलि अप्ठ्यारो लाग्ने अर्का बालक आर्टिस्ट बन्न चाहन्छन् । उनको रोजाइको विषयचाहिँ गणित हो । बालिकाले भने सामाजिक कार्यकर्ता बन्ने सपना देखेकी छन् । बेबी लाइफ होमको बसाइ र सफलता एचआईभी शिक्षा सदनको पढाइले उनीहरूले आफन्त र घरसमेत बिर्सिसकेका छन् । बालिकाले आफन्त कहाँ छन् भन्ने थाहै नभएको बताइन् । दुईमध्ये एक बालकका दिदी–भिनाजु काठमाडौंमा छन् तर फर्केर भेट्न आउँदैनन् ।
अर्का बालकको हजुरआमा र काका गाउँमै छन् । उनीहरू पनि कहिल्यै भेट्न आएका छैनन् । तीनै जना होममा आएदेखि फर्केर गाउँ गएका छैनन् । ‘म एचआईभी संक्रमित हुँ र ऊ बेला के भाथ्यो भन्ने सबै भुलेर पढिरहेको छु,’ बालिकाले भनिन्, ‘संक्रमित भए भनेर पीर मानेर बस्ने हो भने लक्ष्यमा पुग्नै सकिँदैन भन्ने बुझेर सबै कुरा बिर्सिएर पढिरहेकी छु ।’
तत्कालीन शिक्षा कार्यालय काठमाडौंले सदनलाई विशेष विद्यालयका रूपमा आधारभूत तहसम्म अनुमति दियो । कीर्तिपुर नगरपालिकाले गत वर्ष ९ र १० कक्षाको अनुमति दिएको छ । वैकल्पिक विद्यालयका रूपमा अनुमति दिए पनि शिक्षा मन्त्रालयले दिने अनुदान भने शून्य छ । जसरी सामुदायिक विद्यालयमा शिक्षकको तलब, विद्यालय सञ्चालन गर्ने खर्च, विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ । उनीहरू भने यो सुविधा पाउनबाट वञ्चित छन् ।
सरकारले उनीहरूलाई सामाजिक सुरक्षा भत्ताबापत हरेकलाई तीन हजार रुपैयाँ भने चालु वर्षदेखि उपलब्ध गराउन थालेको छ । विद्यालयमा २७ जना एचआईभी संक्रमित बालबालिका अध्ययनरत छन् । यो वर्ष कक्षा आठको नगरपालिकास्तरीय परीक्षा दिने सात जना छन् । उनीहरूलाई पढाउन सात जना शिक्षक छन् । शिक्षकलाई तलब खुवाउने बेलामा सधैं समस्या हुने गरेको संस्थापक उपाध्यक्ष उमा गुरुङले बताइन् । यी बालबालिकालाई खाने खर्च जुटाउन पुन र गुरुङले बुङमतीमा ३० रोपनी र कीर्तिपुरमा ५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन् । ‘अरूले देला र नानीबाबुलाई खुवाउँला भनेर समाज सेवामा लागेका होइनौं,’ गुरुङले भनिन्, ‘कहिलेकाहीँ खानेकुरा र स्टेसनरी सहयोग आउँछ । शिक्षकको खर्च जुटाउन खेती गरिरहेका छौं ।’ उनीहरूलाई खेतीमा सहयोग गर्ने बुङमतीका प्रेम माली र कविता माली देसार पनि छन् । उनीहरूले संयुक्त लगानीमा खेती गरेका हुन् ।
सरकारले सफलता एचआईभी शिक्षा सदनलाई यो वर्ष एक करोडको अक्षयकोष खडा गरिदिएको छ । जुन प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यको पहलमा भएको हो । शाक्यले संक्रमित बालबालिकालाई दसैंमा बोलाएर टीका लगाइदिने गर्छिन् । अक्षयकोषमा राखिएको रकमको ब्याजले खर्च पुर्याउन र शिक्षक तलब अपुग हुने गुरुङले बताइन् । यिनीहरूजस्तै संक्रमित बालबालिकालाई भर्ना गरिदिन आउने पनि धेरै हुन्छन् ।
‘एक/दुई महिना घर भाडा तिरिदिन्छु भन्दै भर्ना गरिदिन भन्दै आउँछन्,’ पुनले भने, ‘हेरचाह गर्ने हाम्रो आम्दानीको बलियो स्रोत नभएकाले अरू बच्चा लिनै सकेका छैनौं ।’ एचआईभी संक्रमित बालबालिका विद्यालय बाहिर रहेकाले सरकारले विशेष पहल गर्नुपर्ने उनले बताए ।