काठमाडाैं- एसएलसीको नतिजा सार्वजनिक भएसँगै हरेक अभिभावकहरु आफ्ना सन्तानहरुलाई कस्ता प्लस टु मा पढाउने भन्ने विषयमा सोधीखोजीमा छन् । खासगरी आर्थिक अववस्था, कलेजको फि स्टक्चरले पनि नयाँ भर्नामा प्रभावित पार्ने गरेको पाइन्छ ।
एजुकेशन समाचारले उपत्यकाका केही प्रसिद्ध र अब्बल नतिजा दिइरहेका कलेजहरुको सूची सार्वजनिक गरेको छ । जसमा नेपाली सेनाले सञ्चालन गरेको सैनिक आवासीय महाविद्यालय सबैभन्दा महंगो देखिएको छ ।
उपत्यकाका केही अब्बल १० कलेजको शुल्क, त्यहाँ पढाइ हुने विषय, सिट संख्या, छात्रवृतिबारेको रिपोर्टः
१. सैनिक आवासीय महाविद्यालय
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : विज्ञान १ लाख २९ हजार ६ सय विज्ञान
ब्यवस्थापन : १ लाख २६ हजार ८ सय
भक्तपुरको सल्लाघारीमा रहेको यो उच्च मावि नेपाली सेनाको सञ्चालनमा चलिरहेको छ । तर, विज्ञातर्फ यसले अरु अब्बल कलेजहरुलाई शुल्कमा उछिनेको छ । यसले विज्ञान, ब्यवस्थापन र मानविकी तीनै संकायमा अध्यापन गराउँदैं आइरहेको छ ।
विज्ञान र ब्यवस्थापनमा समान १ सय ६० जना विद्यार्थी भर्ना लिने यसले समान ८ ८ जनालाई छात्रवृति दिने गरेको छ । मानविकीमा भने यसले ४० जनालाई भर्ना लिदैं आएको छ । जसमा २ जनालाई छात्रवृति दिइन्छ ।
भर्ना शुल्क ६ हजार र मासिक शुल्क ९ हजार ५ सय लिने यो उच्चमाविले अन्य शुल्क बापत मानविकी र ब्यवस्थापनमा ६ हजार ८ सय र विज्ञानमा ९ हजार ६ सय लिदैं आएको छ । यसरी हेर्दा मानविकी र ब्यवस्थाप पढ्नेले वर्षमा १ लाख २६ हजार ८ सय रुपैयाँ तिनुपर्छ भने विज्ञान संकायमा पढ्नेले १ लाख २९ हजार ६ सयमा कक्षा ११ पूरा गर्छ ।
२. ग्लोबल कलेज अफ म्यानेजमेण्ट
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : १ लाख २९ हजार
म्यानेजमेण्ट पढाउने कलेजहरुमा सबैभन्दा उत्कृष्ट कलेज मानिन्छ, ग्लोबल कलेज अफ म्यानेजमेण्ट । मध्य बानेश्वरमा रहेको यो कलेजले ब्यवस्थापनमा ६ सय विद्यार्थी भर्ना लिने भएको छ ।
गत वर्षको परीक्षामा ९३.३३ प्रतिशत विद्यार्थी पास गराउन सफल रहेको यो कलेजले मासिक शुल्क ५ हजार लिन्छ । भर्ना शुल्क १२ हजार र अन्य शुल्क ५७ हजार लिने गरेको कलेजले जनाएको छ । जम्मा एक वर्षका लागि यो कलेजले १ लाख २९ हजार रुपैया लिने गर्छ ।
कलेजले ३० जना विद्यार्थीलाई छात्रवृति दिदैं आएको छ ।
३. काठमाडौं मोडल कलेज
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : १ लाख १३ हजार ९ सय
बागबजार काठमाडौं अवस्थित अर्को प्लस टु हो काठमाडौं मोडल कलेज । गत वर्षको नतिजाअनुसार ९५.३६ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको यो विद्यालय विद्यार्थीहरुको अर्को छनोट बन्न सक्छ । यो प्लस टु ले विज्ञान र ब्यवस्थापन विषय अध्ययन गराउँदैं आएको छ ।
विज्ञानतर्फ मासिक शुल्क ५ हजार २ सय लिने यो प्लस टुले भर्ना वापत ८ हजार तथा अन्य शुल्क बापत ४३,५०० रुपैयाँ शुल्क लिने गरेको छ । कुल एक वर्षको खर्च निकाल्दा विज्ञानतर्फका विद्यार्थीले १ लाख १३ हजार ९ सय रुपैयाँ तिनुपर्ने हुन्छ । विज्ञानतर्फ ७०० विद्यार्थी भर्ना लिदैं आएको यो प्लस टुले १ सय जनालाई छात्रवृति दिने गरेको जनाएको छ ।
यस्तै ब्यवस्थापनतर्फ ४ सय विद्यार्थी भर्ना लिने केएमसीले ८० विद्यार्थीलाई छात्रवृति दिने गरेको छ । ब्यवस्थापनतर्फ ३ हजार ५ सय मासिक शुल्क लिने यो प्लस टुले भर्ना शुल्क भने ८ हजार लिन्छ । अन्य शुल्क २४ हजार ५ सय लिने गरेको छ । सबै गरी एक वर्षमा एक कलेजमा पढ्न ७४ हजार ५ सय तिनुपर्ने हुन्छ ।
४. लिटिल एन्जल्स
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : ९६ हजार
हात्तीबन ललितपुरमा रहेको लिटिल एन्जल्स पनि गनिएको प्लस टुमा पर्छ । यसले ब्यवस्थापन र विज्ञान संकायमा अध्यापन गराउँदैं आएको छ ।
विज्ञानतर्फ ३५० जना भर्ना लिने यो उच्च माविले ब्यवस्थापनतर्फ २५० जना विद्यार्थी भर्ना लिन्छ । यसले विज्ञानतर्फ ३५ जना र ब्यवस्थापनतर्फ २५ जनालाई छात्रवृति दिने गरेको जनाएको छ ।
लिटिल एन्जल्सले विज्ञान र ब्यवस्थापन दुवै संकायमा मासिक शुल्क ५ हजार, भर्ना शुल्क १४ हजार र अन्य शुल्क स्वरुप २४ हजार रुपैयाँ लिने गरेको छ । यस उच्च माविमा एक वर्ष अध्ययन गर्न ९६ हजार स्कुल तिनुपर्ने हुन्छ ।
५. प्रसादी एकेडेमी
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : ९०५५०
रिजल्ट हिसाबले उत्कृष्ट नतिजा दिइरहेको मानिएको यो प्लटु ललितपुरको मानभवनमा रहेको छ । गत वर्षको नतिजामा यसले ९८.३५ प्रतिशत विद्यार्थीलाई उतीर्ण गरेको यो कलेजले विज्ञान तथा ब्यवस्थापन संकायमा पढाइ गराउँदैं आएको छ ।
विज्ञानतर्फ मासिक शुल्क ४५५० लिने यो उच्च माविले भर्ना शुल्क १४९५० र अन्य शुल्क २१ हजार लिने गरेको छ । सबै वार्षिक रुपमा जोडदा यसको कुल शुल्क एक वर्षमा ९०,५५० हुन आउँछ । विज्ञानतर्फ ४०० विद्यार्थी पढाउने यसले ४० विद्यार्थीलाई छात्रवृति दिने गरेको छ ।
प्रसादीले विज्ञानसँगसँगै ब्यवस्थापन पनि पढाउँदैं आएको छ । ब्यवस्थापनतर्फ यसले मासिक शुल्क ३५५० लिदैं आएको छ भने भर्ना शुल्क १४९५० रहेको छ । ब्यवस्थापनका लागि अन्य शुल्क १४००० लिने गरेको छ । यो सबै जोड्दा कुल ७१ हजार ५ सय ५० रुपैयाँ एक वर्षको खर्च हुन आउँछ । ब्यवस्थापनमा २८० विद्यार्थी पढाउँदैं आएको यो कलेजले १४ जनालाई छात्रवृति दिने गरेको छ ।
६. सेन्ट मेरिज उच्च मावि
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : ८४ हजार ८ सय
जावलाखेल लतिपुरमा रहेको यो उच्च माविले छात्राहरुलाई मात्र भर्ना लिने गरेको छ । विज्ञान, मानविकी र ब्यवस्थापन तीनै संकायमा अध्यापन गराइने यो कलेज पनि राजधानीका उत्कृष्ट उच्च माविहरु मध्येमा पर्छ ।
गत वर्ष ९६.१८ प्रतिशत विद्यार्थीहरुलाई उतीर्ण गराउन सफल यो उच्च मावि राजधानीको कहलिएको उच्च माविमा पर्छ ।
विज्ञानतर्फ ८० जना विद्यार्थीलाई भर्ना लिने यसले १५ जनालाई छात्रवृति दिने गरेको छ । यस्तै मानविकीमा ३० जना भर्ना लिने गरेको यसले ७ जनालाई छात्रवृति दिन्छ भने ब्यवस्थापनमा ८० जनाको सिट रहेकोमा १५ जनाले छात्रवृति पाउने गरेका छन् ।
कलेजले तीनैं संकायका लागि समान शुल्क निर्धारण गरेको छ । जसअनुसार मासिक शुल्क २९ सय, भर्ना शुल्क २० हजार र अन्य शुल्क ३० हजार रहेको छ । कुल गरी वर्षमा ८४ हजार ८ सय हुन आउँछ ।
७. सेन्ट जेभियर्स
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : ७५ हजार
पढाइका लागि कहलिएको मानिएको सेन्ट जेभियर्स कलेज काठमाडौंको माइतीघरमा अवस्थित छ । विज्ञानमात्र पढाउने यो कलेजले प्रत्येक वर्ष ५ सय ५० जना विद्यार्थीलाई भर्ना लिने गरेको छ । गत वर्ष ९८.०७ प्रतिशत विद्यार्थी उतीर्ण गर्न सफल यो कलेजमा भर्नाका लागि नै तछाड मछाड हुने गरेको छ ।
कलेजले मासिक स्कुल नलिई दुई किस्तामा विद्यार्थीबाट स्कुल लिने गरेको छ । जसमा भर्ना शुल्क ५ हजार र अन्य शुल्क ७०, हजार गरी एक वर्षमा ७५ हजारमा पढाउँदैं आएको छ । यसले विज्ञानमा भर्ना लिदा बायोलोजी र फिजिक्स समूहमा छुट्टाछुट्टै भर्ना लिने गरेको छ ।
८. एनसीसीएस उच्च मावि
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : ६२ हजार ७ सय
काठमाडौंको पकनाजोलमा रहेको यो उच्च माविले ब्यवस्थापन संकायमा मात्र अध्यापन गराउँदैं आएको छ । एक शैक्षिक सत्रमा ५ सय विद्यार्थी भर्ना लिने यो उच्च माविले २५ जनालाई छात्रवृति उपलब्ध गराउँदैं आएको छ ।
मासिक शुल्क ३ हजार १ सय, भर्ना शुल्क ३ हजार र अन्य शुल्क २२ हजार ५ सय लिने यो कलेजमा एक वर्ष अध्ययन पूरा गर्नका लागि ६२ हजार ७ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
९. सिद्धार्थ वनस्थली इन्च्युट
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्कः विज्ञानतर्फ ५६ हजार
ब्यवस्थापनतर्फ ३९ हजार
पब्लिक ट्रष्टबाट सञ्चालित सिद्धार्थ बनस्थली इन्च्युटले पनि राजधानीका प्रसिद्ध प्लस टु पढाउने शैक्षिक संस्थामध्येमा पर्छ । बालाजुस्थित यो कलेजले साइन्स र म्यानेजमेण्ट पढाउँदैं आएको छ ।
साइन्सतर्फ फिजिक्स र बायोलोजी गरी दुई समूहमा भर्ना लिने यो कलेजले भर्नाका लागि २० हजार रुपैयाँ र मासिक शुल्क ३ हजार लिने गरेको छ । विज्ञानतर्फ ११ कक्षाको पढाइ पूरा गर्न ५६ हजार रुपैयाँ तिर्नुपर्छ ।
ब्यवस्थापनतर्फ भर्ना शुल्क १५ हजार र मासिक शुल्क भने २ हजार रहेको छ । ब्यवस्थापनमा ११ कक्षा पूरा गर्न ३९ हजार तिनुपर्छ । भर्ना र मासिक बाहेक सिद्धार्थ बनस्थलीको अन्य शुल्क यसमा समावेस छैन ।
१०. मोर्डन बोर्डिड स्कुल
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क : ४३ हजार ५ सय
दधिकोट भक्तपुरमा रहेको मोर्डन स्कुलले पनि ब्यवस्थापन संकायमा मात्र अध्यापन गराउँदैं आएको छ । एक शैक्षिक सत्रमा ३५० जना विद्यार्थी भर्ना लिने यो उच्च माविले २४ जनालाई छात्रवृति दिने गरेको छ ।
मासिक शुल्क २४ सय, भर्ना शुल्क ७ हजार र अन्य शुल्क ७ हजार ७ सय लिने यो उच्च माविमा एक वर्ष पढ्नका लागि ४३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
- educationsamachar