काठमाण्डौ,नेता नेल्सन मन्डेलाले भनेका छन्– शिक्षा एक यस्तो शक्तिशाली औजार हो, जसको सहायताले सामाजिक रूपान्तरण गर्न सकिन्छ । हरेक राजनीतिक दलका चुनावी एजेन्डामा प्रमुख बुँदाका रूपमा सामाजिक रूपान्तरण राखेको पाइन्छ । त्यसैले चाहे सरकारमा बसून् वा प्रतिपक्षमा, सामाजिक रूपान्तरणलाई साझा एजेन्डाका रूपमा राख्नेमा विवाद नहोला, जसका लागि सार्थक शिक्षाको सामूहिक प्रयास गरिएला भनी आशा गरौँ ।
लामो अन्तरालपछि भेट भएका एक साथीसँग राजनीतिकलगायत अन्य परिवर्तनबारे छलफल गर्दै गर्दा विषयले अर्कै मोड लियो । उनले आफू एक विद्यालयको अभिभावक दिवसमा सहभागी हुन गएका वेला विद्यालयपरिसरभित्र नेपाली बोल्ने विद्यार्थी सजायको भागीदार हुनुपर्ने भन्दै विद्यालय प्रशासन हेर्ने एकजना सुट–टाई लगाएका व्यक्तिले स्कुले नानीलाई भन्दै गरेको सुन्दा महसुस गरेका पीडा व्यक्त गरे ।
शिक्षाप्रतिको उनको चासो र चिन्ताले मलाई पनि छोयो । केही अनुत्तरित प्रश्न मनमा उब्जे, हामी सबै सपना देख्दा वा केही सोच्दा, जुन हाम्रो बोलचालको भाषा हो त्यसैमा देख्छौँ र सोच्छौँ । साना नानीलाई उनीहरूले बोल्ने भाषा बोल्न डर देखाइयो भने तिनका प्रतिभा कसरी प्रष्फुटित होला ? क्रियाशील क्षमताको विकास कसरी होला ?
अनि विद्यालय गएका केही महिनाभित्रै अंग्रेजी शब्द प्रयोग गर्न थालेका बच्चाप्रति अभिभावक दंग पर्नुपर्ला कि नपर्ला ? जुन राइम्सको मतलबसमेत बुझेका हुँदैनन्, त्यो रटेर गाउँदा, सिकाइएका भावभंगिमा देखाउँदा ज्ञान बढेको मान्नुपर्ला कि नपर्ला ?
आवश्यकताअनुसार चाइनिज, कोरियन, जर्मनीजस्ता भाषा विभिन्न उमेर समूहका व्यक्तिले सिक्दै गरेको प्रशस्तै भेटिन्छ, तर जीवनका अति मूल्यवान् समय जुन वेला आत्मविश्वास बढाउनुपर्ने, जीवनका मूल्य–मान्यताको बिउ राखिनुपर्ने, जान्ने जिज्ञासालाई झन्झन् प्रोत्साहन दिइनुपर्ने हो, त्यो वेला डर, त्रास अनि भनेको मान्ने र रटेर ल्याउनेबाहेक केही सोच्न नदिने वातावरण दिइयो भने भोलिको समाजले कस्तो पुस्ता पाउला ? के शिक्षा भनेको फरर्र अंगेजी बोल्नु मात्रै हो ? यी प्रश्नले मनमा उथलपुथल मच्चाउँदै अर्को प्रसंग सम्झाइदियो ।
करिब ३–४ महिनाअगाडि विद्यालयबाट एक पत्र आयो । जसमा लेखिएको थियो— आउन लागेको जाडो बिदामा नजिकैको विदेश भ्रमणमा नानीलाई पठाउने कि नपठाउने भनी सही गरेर पठाउनू । पत्र हातमा लिई बच्चाको अनुहारमा हेर्दा सबै साथी जान लागेको र आफू जान नपाए साथीले गिज्याउलान् भन्ने पीडा र घुम्न जाने बालसुलभ रहर । पत्रमा उल्लिखित एक लाखनजिकको रकम जुटाउन एक सामान्य परिवारका लागि चुनौती ।
एकातिर मातृत्व अर्कातिर आर्थिक शक्ति अनि विद्यालयलाई कुनै सहज विकल्प छ कि भनेर सोद्धा, अभिभावककै अनुरोधले यसपालिसमेत यो शैक्षिक भ्रमण आयोजना गरिएको जानकारी । बडो उकुसमुकुसको अवस्था । एक्लो हुँदा बृहस्पति त झुटा ठहरिन्छन् भने म एक्लोको प्रयासले के हुन्छ भन्ने ती आमाको पीडादायी अभिव्यक्ति ।
कुरा सुनिरहँदा फेरि मनभित्र अनुत्तरित प्रश्नको घुइँचो । १४–१५ वर्षका स्कुले नानीलाई नेपालभित्रका समाज डुलाउन र बुझाउन जरुरी छ कि प्लेन चढाएर विदेशका ठुल्ठूला भवन अनि प्रदूषण देखाउन ? मौसमअनुसारका ठाउँ रोजी नेपालको भौगोलिक विकटता, सामाजिक विविधता, संघर्षरत जीवन देखाउँदा समाजसँग अपनत्व बढ्थ्यो । अनि, भोलिका दिनमा निर्णायक तहमा पुग्दा ती भ्रमणले देखेका चुनौतीभित्र अवसर खोज्न सक्थे कि ?
भ्रमण क्रममा भेटेका समान उमेरका साथीसँगका आत्मीयताले तिनका शिक्षालाई मानवतासँग जोड्न मद्दत गथ्र्यो कि ? जसले गर्दा विविधतामा एकता भन्ने शब्दमा होइन, व्यवहारमा महसुस गराउन सकिन्थ्यो कि ? उत्तर पाइएन, बरु झन् मन दुख्यो– ती नानी जो आर्थिक कारणले भ्रमणबाट वञ्चित भए । सँगसँगै तिनका लागि पनि जो आफ्नै देश, भाषा, संस्कृति बुझ्ने अवसरबाट वञ्चित गरिए ।
कारण विविध होला, ट्राभल एजेन्सी र विद्यालयबीचको सामीप्य, आर्थिक क्षमताको आधारमा पाइने सामाजिक प्रतिष्ठा वा शिक्षाको मर्म नै नबुझेका शिक्षाका ठेकेदारको बाहुल्य, तर कारण जे रहे पनि असर त अबोध नानीलाई नै पर्छ र दीर्घकालीन रूपमा समाज र देशलाई पनि ।
आज हामी सबैले कुनै न कुनै रूपमा भोग्दै गरेका अराजकता, सामाजिक स्वीकारोक्तिविहीन निर्णयका दुष्परिणाम र एक–अर्को नेपालीको अस्तित्वप्रतिको बढ्दो अविश्वास कतै सार्थक शिक्षाको अभावले भोग्नुपरेको त होइन ? लिखित परीक्षामा उच्च अंक ल्याउनु मात्रै शिक्षाको उद्देश्य हो कि जीवनोपयोगी बुझाइ र कला सिक्नु र सिकाउनु ?
आज हामी सबैले कुनै न कुनै रूपमा भोग्दै गरेका अराजकता, सामाजिक स्वीकारोक्तिविहीन निर्णयका दुष्परिणाम र एक–अर्को नेपालीको अस्तित्वप्रतिको बढ्दो अविश्वास कतै सार्थक शिक्षाको अभावले भोग्नुपरेको त होइन ?
हामीसँग त ठूलो अवसर छ किताबमा बढ्ने, पसलमा पाइने, ती सबै वस्तुका उत्पादन स्रोत, रूपरेखा र श्रमशील हात अनि किताबमा कोरिएका तराई, पहाडका खेत र गोठका चित्र प्रत्यक्ष अवलोकन गराउन सकिन्छ, यदि शिक्षाको वास्तविक मर्म बुझी शैक्षिक कार्यक्रम तय गरिने हो भने । शिक्षा भनेको किताबी अक्षर मात्रै पढ्नु र पढाउनु कदापि होइन । सकारात्मक सोच, मानवता, सिर्जनशीलता र कर्तव्यपरायणतासमेत सार्थक शिक्षाभित्रै पर्छन् ।
विद्यालय जाने नानीहरू किताबबाहेकका थुप्रै विषय शिक्षकका व्यवहार, विद्यालय प्रशासनका नीति र कार्यक्रम तथा साथी समूहबाट पनि सिक्छन् । विद्यालयमा ससाना अबोध बालबालिकाले आर्थिक क्षमताका आधारमा अवसर पाउने र गुमाउनुपर्ने वातावरण भोग्छन् भने भोलिको समाज भ्रष्टाचारमुक्त कसरी बन्ला ? जुन शिक्षाले समानता, संवेदनशीलता र जिम्मेवारी बहन गर्न अनि एक–अर्काको अस्तित्वलाई सम्मान गर्न सिकाउँदैन, त्यसले सामाजिक रूपान्तरणका लागि सहयोगी भूमिका कसरी खेल्ला ? सामाजिक विकास र समृद्धि कसरी ल्याउला ?
त्यस्तै दिमागले सम्झाएको अस्ति भर्खरको अर्को प्रसंग । काठमाडौंको नाम चलेको एक विद्यालयमा कक्षा ९ मा अध्यनरत एक साथीको नानीले घर पुग्दा अचम्मको व्यवहार देखाउन थालिन् । मामु, तपाईं छिटै घर फर्किने गर्नुस्, भन्दै आफ्ना भएभरका छोटा फ्रक, स्कर्ट अनि बहुलाविहीन सबै लुगा, जुन उनी आफैँले रोजेर बडो खुसीसाथ किनेकी थिइन्, सबै थुपार्दै गइन् ।
मामु, यो सब अब मलाई चाहिँदैन, म लगाउँदिनँ भन्न थालिन् । उनको अचानकको यस्तो परिवर्तित व्यवहारप्रति अचम्मित आमा त्यतिवेला केही बोलिनन्, तर सुत्ने वेला काखमा नानीको टाउको राखी मायाले सुम्सुम्याउँदै सोध्दा, कारण जानेर दुःखी मात्रै होइन, क्रोधित पनि बनाएको भन्दै सुनाउँदै गर्दाको साथीको अनुहार झलझली सम्झिएँ ।
कारण के रहेछ भने ती नानीको नेपाली पढाउने शिक्षिकाले पाठ्यक्रममा रहेको महिला हिंसा भन्ने पाठ पढाएपछि निचोडमा भनेकी थिइन्, महिला हिंसाको कारण महिला आफैँ हो । बलात्कारका बढ्दो घटना त्यत्तिकै भएको होइन, केटीहरूका छोटा लुगा र ढिलासम्म घरबाहिरै बस्ने बानी यसको प्रमुख कारण हुन् । त्यसकै परिणाम थियो, ती नानीको अचानक परिवर्तित व्यवहार ।
यो घटना सम्झिँदा मनमा कुनै प्रश्न आएन, बरु कतिपय उत्तरहीन प्रश्न चुपचाप स्विकार्न बाध्य भएँ । जस्तो कि निर्णायक भूमिकामा रहेकाहरू शब्द, व्यवहार र कार्यद्वारा महिलाको बराबरी अधिकारप्रति सकारात्मक सोच किन राखिँदैन ? किन न्यायको खोजीमा भौँतारिनु पर्दा पीडादायी व्यवहार भोग्नुपरेको हुन्छ महिलाले । कुनै जिम्मेवार पदका लागि लिइने अन्तर्वार्तामा किन एक महिलाको कार्य क्षमताभन्दा पनि पारिवारिक स्वीकृति छ कि छैन भन्ने जान्न खोजिन्छ ।
यी र यस्ता यावत् प्रश्नको जवाफ खोज्न आवश्यक लागेन, समानतामा आधारित समाजको परिकल्पना गर्न पनि सकिनँ । अनि किताबका पानामा मात्रै राम्रा कुरा लेखेर नहुँदो रहेछ, त्यो पढाउने व्यक्ति पनि विषयप्रति त्यत्तिकै संवेदनशील हुनुपर्दो रहेछ भन्ने कहिले सर्वत्र महसुस गरिएला भन्ने चिन्ता लाग्यो ।
अनि एक शिक्षकको भनाइ सम्झिएँ– महात्मा गान्धीको जीवनी कन्ठै पारेका विद्यार्थीले आचरणमा अहिंसा र सत्यता देखाउन सक्दैन भने त्यो शिक्षाले कसरी सामाजिक रूपान्तरण गर्ला ? हुन पनि हो, जुन शिक्षाले उसका आमा, बाबा, परिवार, समाज र देशलाई माया गर्न सिकाउन सक्दैन, त्यही शिक्षा आजको आवश्यकता हो त ?
फेरि ती सबै अभिभावक, जो आफ्ना अनेक आवश्यकता कटौती गर्दै आफ्ना नानीहरूको उज्ज्वल भविष्यका लागि राम्रोभन्दा राम्रो विद्यालय खोजीमा व्यस्त देख्छु ‘राम्रो’ को परिभाषा के हो ? त्यो जान्न मन लाग्यो । अनि भन्न पनि मन लाग्यो, आफ्ना नानीहरू पाठ्यपुस्तकका अलाबा के–के सिक्दै छन् भनी चासो राख्नुका साथै विद्यालयका अनावश्यक कार्यक्रम, व्यक्तिगत रूपमा पनि चित्त बुझेन भने त्यसको विरोध गर्नु आवश्यक छ, न कि कसैले केही भनेन भनी चुपचाप सहभागिता जनाउनु । सार्थक शिक्षा आजको आवश्यकता हो, जसका लागि सामूहिक प्रयास जरुरी छ ।
(लेखक:- बिणा झा समाजशास्त्री हुन्)