इयरफोन : हास्य निवन्ध
शिक्षाखबर डेस्क
१५ फाल्गुन २०७५, बुधबार
no immg

हैन कता परेछ | टेबल मा पनि छैन, सिरानी मुनि छ  कि? त्यहाँ पनि छैन, ए ए सधै त्यतै भेटिन्थ्यो हेरिहाल्नु पर्यो, लौ खाटमुनी पनि छैन त, पाइन्ट को गोजी मा त पक्कै होला, ३ ओटा गोजीमा ३ ३ पटक छाम्दा नि भेटिन्न त ।  अफिस मै छोडे कि ? बाटोमा खस्यो कि ? लौ आज त बित्यास पर्ने भयो यसको आदत लागेपछि पनि सारै गाह्रो हुदो रैछ, नसा नसा भन्थे मान्छे  हो रैछ । कसै लाई चुरोट को नसा कसैलाई रक्सि को कसैलाई केटि को त कसैलाई कुर्शी को मलाई के नसा लाग्यो यस्तो भिन्न । अ ह भिन्न भन्दैन म यो नसा लाई, मानिस ले नसा  को परिभासा नदिईसकेको भएर हो ।

मैले इयरफोन को कुरा गर्दै छु , मेरो नाम जस्तै अनेकथरी नाम भएको यसको पनि ठुलै परिवार छ इयरफोन, हेडफोन, ब्लुटुथ, लगायत आज यसलाई मैले नसा को उपनाम पनि दिएछु है ख्यालख्याल मै, वास्तव मा मिल्छ त ? किन नमिल्नु सरिर को नसा पनि त यस्तै लामो, मसिनो नै हुन्छ फरक यत्ति को सरिर को नसा मा रगत बग्छ भने यसमा तारहरु बग्छ्न।अझ गहिरिएर हेर्ने हो भने रगत ले पोषण बोग्छ यसले सुमधुर संगीत । अब अर्को लत वाला नसा मा दाज्ने हो भने  आजकल फेसन को लागि होस् या संगीत सुन्न होस् धेरै को कान मा बुजो हालेको प्रसस्तै देखिन्छ । आवस्यक पनि धेरै लाई छ नि त, भर्खर लब परेको ठिटो लाई तिमि छौ र पो…., हास्न मन लाग्छ .. जस्तो गित सुन्न होस् या , ब्रेकअप भएपछी मलाई यो जिन्दगीले चोट दियो गनी गनी ……जस्तो गित सुन्न होस् ,  लाहुरे को हाउडे गित सुनेर हाउडे केटो म  बन्ने रहर ले गित नलगाई घाटि  मा झुण्ड्याउन होस् या त कोलाहल मा आफ्नै ताल मा कमेडी हेर्न होस् कि बस मा फिल्म हेर्न होस्, अरुले नसुनोस भनि गोप्य रुपमा  पोर्न हेर्न होस् या सहर बाट गाउ छिर्दा मोडर्न देखिन होस्,  भैरब अर्याल को आलु को बर्णन अनुसार को आलु को प्रयोग भन्दा कम देख्दैन यसको आवस्यकता र प्रयोग ।

मानिसहरुमा अरु प्रति को इर्श्या गर्ने बानि बढ्दै जादा, प्राईभेसी को नाम मा अरुले डिस्ट्रब गर्यो भनि झर्को मान्ने चलन बढ्दै जादाँ इयरफोन को बिक्रि पनि बढ्दै गैरहेको जस्तो लाग्छ, गया सर जस्तो नाती खेलाउने उमेर मा मोबाइल खेलाउन सुरु गरे का लाई युट्युब मा भजन सुन्दा छेवै मा बसेको छोरा नातिलाई मन नपरेर दिक्क नलागोस भनि एक्लै सुन्न पनि काम लागेकै छ, पंकज सर, सन्तोष सर जस्तो अधबैसे लाई अफिस मा फुर्सद को समय मा हिन्दि नबुझ्ने साथीहरु लाई डिस्टर्ब नहोस भनि कुमार साहनी का गित सुन्न पनि काम लागेकै छ, युवा जोस का निरज सर लाई भोइस अफ नेपाल का एपिसोड सुन्न नि मिलेकै छ, स्कुल मा पढ्ने जुँगा को रेखी नबस्दै देखि रोमियो जुलिएट जस्तै प्रेम छ हाम्रो भन्दै प्रेम को सेखी झार्ने केटाकेटी लाई साइकल चलाउदै फोन मा बात मार्न पनि सहयोग नै पुगेको छ, यसो सोचबिचार गर्ने हो भने त हरेक उमेर समुह का लागि पर्फेक्ट रैछ त, न त जुत्ता को जस्तो साइज मिल्नु पर्ने न त सामसुंग को मोबाइल मा मिल्यो नोकिया मा मिलेन भन्ने तनाब, ल्यापटप मा होस् कि ट्याब मा होस्,  सा नि ध प मा होस् कि र्याप मा होस्,  जहा पनि जुन पनि मिल्ने, अचम्म को छ साची । सि आई डी मा ड्राईभ गर्दा ब्लुटुथ नभएको भए गाडी रोकेर फोन गरेर अगाडी जादा अपराधि भागीसक्थ्यो होला, ति गित गाउने सो मा हेडफोन नालागाई जज ले ठिक जज गर्न सक्दैन थियो होला, बेरोजगार लाई समय कटाउन मात्र हैन नि राम्रै काम मा पनि यसको भयंकर गतिलो प्रयोग छ ।

उफ …. बिश्लेषण ले मन सान्त हुदोरैनछ, चुरोट खानेलाई धुवा मा बसेर कहा हुन्छ र मलाइ पनि यो गित इयरफोन बिना कान बाहिरै बाट उडेजस्तै भयो मन सान्त भएन । हे भगवान मेरो कान इयरफोन ठुस्दा ठुस्दा बुद्दिमा पनि बिर्को लागेछ, कस्तो बिर्सेछु के त्यै ब्याग को बाहिरी गोजीमा त राखेको थिए  अभाव मा मात्र त्यसको महत्व थाहा हुन्छ भन्थे हो रैछ, आज इयरफोन को बारे यति कुरो नभेटीनाले मात्र त मैले सोचेको हो ।

अन्तत भेटियो, कैदी कालकोठरि मा थुनिएझै कालो झोला को पिधमा सानो बच्चाले पहिलो पटक कलम समातेर कापीमा केरेको जस्तो  फेद टुप्पो नभेटिने गरि अल्झिएको अवस्थामा , दिल खुस हुवा । तर आज मेरो दिमाग मा सैतान छिरेको हो कि, मनुस्यता हराइसकेर सैतान बनेको मानव जाति मध्ये म भित्र मानवता पलाएको हो । मानवता नि के भन्नु इयरफोनता भनौ होला । आज यसको बारेमा धेरै सोच्न मन लाग्यो, भर्खरै आफैले भनेको अभाव मा मात्र महत्व थाहा हुन्छ भन्ने बाणी लाई चिर्दै । महत्व चाई यति धेरै भएको यसको बसोबास र स्याहार बिल्कुल न्यायोचित लागेन । ठुलै अपराध गरेर कालकोठरी मा  बस्न परेको कैदी जस्तो कहिले झोला को भित्रि कुना त कहिले प्यान्ट को गोजीमा मा नागबेली बनेर बसेको हुन्छ  मेरो लगायत केहि आधुनिक भलादमी हरुको नसा इएरफोन, भलादमिहरुको नसा फेरी अचम्म लाग्ला है, हो त अरुलाई असर नपरोस भनेर कोलाहल बढेको जुग मा ध्वनि प्रदुषण लाई कम गर्दै निजि प्रयोजन को काम नितान्त समाजबादी प्रयोग गरि अरुको भलो सोच्ने लाई भलादमी नै त भन्नु पर्यो । पिडा भएको मानिस को अगाडी कमेडी भिडियो हेर्दियो बाहिर आवाज आउने गरि भने के असर पर्छ ? पुरोहित जस्ता मान्छे संगै हुदा आधुनिक ढुंगेतारे आई मिन रकस्टार हरुले डेस्पासितो सुन्दिए के हुन्छ? लाहुरे दाईले गाउँले छिमेक मा चिक्नी चमेली सुन्दिए के हुन्छ? हो यस्ता समाजका विभिन्न प्रकृतिका मानिस मा मेलमिलाप कायम राख्न र आफ्नो इज्जयत बचाउन र भलादमी को पद यथावत कायम राख्ने कला को इएरफोन मुख्य नायक नै हो । नायकहरु को त जीवनशैली बसोबास बेग्लै र उच्च स्तरीय हुन्छ लाग्छ, तर हेर्नु त समाजलाई सामाजिक मेलमिलाप मा बाध्ने नायक को हाल, आजकल का क्याबिनेट छिरेपछि जनता बिर्सने नेता मन्त्रि को जस्तो नभएर सत्ययुग का राजा जस्तो जनता को लागि आफु दुख भोग्ने युद्ध लड्ने जस्तो प्रकृति को छ ।

बल्ल तल्ल भेटिएपछी यति सोच्दा सम्म बल्ल तल्ल अल्झेको बल्झन लाई फुकाउन सफल भए । गाजा भांग नखाएपनि आज दिमाग ले सारै सोचेको छ, मानिस लाई समस्या ले त बिश्वबिद्यालय ले भन्दा बढी ज्ञान दिन्छ भन्छन यहि इएरफोन जस्तै अल्झन ले भरिएको मेरो जीवन अनि यस्तो ज्ञान न आओस पनि कसरि, मानिस को जीवन इएरफोन को जीवन संग कति मिल्छ है, मानिस लाई पनि दैनिक, साप्ताहिक , मासिक समस्याले अल्झाईरहेको हुन्छ त्यस्तै इएरफोन पनि प्राय जसो अल्झेकै पाइन्छ । जीवन जसरि एउटा समस्या सुल्झायो केहि समय पछी फेरी अर्को ले झेल्न सुरु गर्छ त्यस्तै एक पटक सुल्झायो फेरी केहि समय दिन मा त फेरी उही अल्झन मा डुबेको भेटिन्छ इएरफोन पनि । जसरि मानिस मा बिबिधता छ त्यसरी नै कालो सेतो अनेकता पनि छ, जसरि मानिस मा अपाङ्गता हुन्छ त्यस्तै एक काने अपाङ्गता मुख्य अपाङ्गता पाइन्छ । जुन कोण बाट हेरेपनि अहिलेको आधुनिक युग को महा आधुनिक मानिस प्रजाति को लागि इएरफोन एउटा बरदान हो, बाहुन ले जनै निकाल्ला इएरफोन बोक्छ अब, मानिस ले कतै बाहिर जानु परे बिर्सेकी भनेर चेक गर्ने पर्स, मोबाइल र थप इएरफोन, यो देख्दा हरेक दृष्टिकोण बाट अब्बल बिज्ञान को यो उपहार लाई मेरो मनै देखि नमन छ ।

प्रतिक्रिया