सुदूरपश्चिम प्रदेश सरकारको घोषणा अधुरै, ज्ञानेश्वर माविका विद्यार्थी बस चढ्ने सपना अझै सपना नै
शिक्षाखबर डेस्क
१६ कार्तिक २०८३, आईतवार
no immg

बैतडी, १५ कात्तिक । बैतडीको पाटन नगरपालिका–९, विजयपुरस्थित नमुना ज्ञानेश्वर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराउने सुदूरपश्चिम प्रदेश सरकारको घोषणा सात वर्ष बितिसक्दा पनि अधुरै रहेको छ।

विद्यालयको ४६ औँ वार्षिकोत्सव समारोहमा उपस्थित शिक्षक, अभिभावक र विद्यार्थीहरूले मुख्यमन्त्रीको पुरानो घोषणा स्मरण गर्दै बस चढ्ने सपना अझै पूरा हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्।

२०७६ साल मङ्सिर २९ गते विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले विद्यालयलाई प्रदेश सरकारका तर्फबाट बस किनेर उपलब्ध गराउने सार्वजनिक घोषणा गरेका थिए। मुख्यमन्त्री स्वयंले विद्यालय प्राङ्गणमा पुगेर बस दिने प्रतिबद्धता जनाएपछि त्यतिवेला पठनपाठनरत विद्यार्थीहरू निकै उत्साहित बनेका थिए।

“मुख्यमन्त्रीज्यूले विद्यालयकै प्राङ्गणमा आएर बस दिने घोषणा गर्दा विद्यार्थीहरू निकै खुसी भएका थिए। तर, घोषणा भएको करिब सात वर्ष बितिसक्दा पनि बस आइपुगेको छैन।”

— पुष्पराज जोशी, प्रधानाध्यापक, ज्ञानेश्वर मावि

दैनिक दुई घण्टा पैदल हिँड्न बाध्य विद्यार्थी

बैतडीकै पहिलो नमुना सरकारी विद्यालयका रूपमा रहेको ज्ञानेश्वर माविमा कक्षा ९ देखि १२ सम्म ओभरसियर (प्राविधिक) विषयको पठनपाठन हुँदै आएको छ। ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा यातायातको साधन नहुँदा विद्यार्थीहरू दैनिक घण्टौँ पैदल हिँडेर आउजाउ गर्न बाध्य छन्।

प्रधानाध्यापक जोशीका अनुसार अनारखोली, दुदिलाखान, ज्याफु, झौलेक, आरुबाटा र राँगाजुजौना लगायतका क्षेत्रबाट विद्यार्थीहरू दुई घण्टासम्मको उकालो-ओरालो बाटो पैदलै हिँडेर विद्यालय पुग्ने गरेका छन्।

जयपृथ्वी राजमार्गमै अवस्थित यस विद्यालयमा पाटन नगरपालिकाका वडा नं. ८, ९ र १० का साथै छिमेकी सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र पुर्चौडी नगरपालिकाबाट समेत विद्यार्थीहरू प्राविधिक शिक्षा लिन आउने गर्छन्।

‘सार्वजनिक यातायात चढ्न आर्थिक अवस्थाले भ्याउँदैन’

विद्यालयसम्म पुग्ने सडक र यातायातको सुविधा भए पनि नियमित रूपमा भाडा तिरेर सार्वजनिक बस चढ्न विद्यार्थीहरूको आर्थिक अवस्थाले नसकिने प्रधानाध्यापक जोशी बताउँछन्। विशेष गरी कक्षा ११ र १२ मा अध्ययनरत प्राविधिक धारका विद्यार्थीहरू बस नहुँदा बढी मर्कामा परेका छन्। प्रदेश सरकारको घोषणा कागजमै सीमित बनेकोमा सरोकारवालाहरूले निराशा व्यक्त गरेका छन्।

यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिस विष्टले तत्कालीन मुख्यमन्त्रीले बस दिने घोषणा गरे पनि प्रदेश सरकारका कर्मचारीको असहयोगका कारण प्रक्रिया अगाडि बढ्न नसकेको आरोप लगाए। मुख्यमन्त्रीको कार्यकाल सकिएपछि उक्त विषय नै ओझेलमा परेको र पटक-पटक गुहार्दा पनि पछिल्ला वर्षहरूमा कुनै सुनुवाइ नभएको विष्टको भनाइ छ।

आफ्नै खेल मैदान, बालउद्यान र प्राविधिक धारको गुणस्तरीय पढाइका कारण ज्ञानेश्वर नमुना माविमा विद्यार्थीको आकर्षण उच्च रहे पनि यातायात सुविधाको अभावले टाढाबाट आउने विद्यार्थीहरूले सास्ती व्यहोरिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर