लघु कथा :- कालु
शिक्षाखबर डेस्क
१९ बैशाख २०७५, बुधबार
no immg

हरेक वार्षिक परीक्षा सकेर कालूले हिउदभरी सडकमा बालुवा बोक्ने काम गरेर वर्षभरी पढाई लेखाईको खर्च जुटाउथ्यो । हिउदको समयमा शारदा खोलाको बगरबाट सडकसम्म बालुवा बोक्ने काम रहरको मामला थिएन तर आर्थिक अभावका कारणले चारभाई चारवहिनी मध्ये ठूल्दाई र ठुल्दिदीले पढ्न नपाएको यथार्तताले समय समयमा कालुलाई पनि तर्साउथ्यो । यद्यपी प्रत्येक वार्षिक परीक्षमा आफू स्कूलफस्ट हुँदा शिक्षक, साथीभाइ र आफन्तहरुले दिएको हौसला र प्रेरणाले कालुले जस्तोसुकै कठोर श्रम गरेर भए पनि पढाइलाई निरन्तरता दिने दृढ इच्छाशक्तिको बलमा शिषिर ऋतुको कठागङ्ग्रिदो जाडोमा पनि बालुवा बोक्ने हिम्मत गर्दथ्यो । कहिलेकाही साथीहरुले चिया, नास्ता खाउँ भन्दा चिया पसलसम्म पुगेको कालूलाई घरमा खानेकुरा नहुदाँ गोलभेडाको अचारसंग उसिन्नेको मकै खाएर सुत्नेबेला आमा भक्कानिएको याद आउथ्यो र फेरी चिया नखाई घरैबाट लिएको अदुवासंग खाजा र रोटी खादै आफ्नो कामलाई निरन्तरता दिन्थ्यो । रामेखोलामा ४ रुपैया ढ्वाङ बाट बालुवा बोक्न थालेको कालुले भालुखोला, चाक्लीघाट, पटारे हुदै मोखला खर्सेनीखोलासम्म बालुवा बोक्दा १३ रुपैयाँ ढ्वाङ पुगिसकेको थियो । प्रत्येकवर्ष कालुको दिनचर्या  दुईवटा कुरा सधै दोहरिरहे प्रत्येक वार्षिक परीक्षापछि कालूले सडकमा बालुवा बोक्ने थैलो र नाम्लो बोक्नुपर्ने विवसता र परीक्षाको रिजल्टपछि स्कूलफस्ट हुँदा कालुको ओठमा निस्कने उत्साह र आशावादको मुस्कान । २०५३ मंशीर २७ गते कक्षा ७ को वार्षिक परीक्षा सकेर कालू ले कामको खोजी गर्न थाल्यो । यसवर्ष नजिकमा बालुवा बोक्ने काम थिएन जसले गर्दा कालू निकै छटपटिएको थियो । छिमेकी गाँऊ तुसारेबाट एकजना मेठले धनगडी मान्छे लिने खवर सुन्न साथ कालु हतारमा मेठ कहाँ पुग्यो र मलाई पनि धनगडी लिई दिनुहोस् भनेर अनुरोध गर्यो । संयोगले कालु संगै पढ्ने त्यसगाऊँका साथीहरु भोला, प्रेम,चित्र लगायतका साथीहरु आफ्नो बुवासंगै धनगडी जाने कुरा सुनेर कालु झनै उत्साहित भएर घर आईपुग्यो । बुवा कालापहाड भएको हुनाले आमासंग उसले धनगडी जाने अनुमति माग्न थालेपछि आमालाई निकै अफ्ठेरो परेको थियो । घर छोडेर कहिलै बाहिर नगएको कालुलाई अर्काे गाँऊका मान्छेहरुसंग धनगडी पठाउने कुरामा आमाको लागि त्यति सजिलो थिएन । तर पैसा नभएपछि कालु र त्यसपछिका साना भाई बहिनीहरु लाई कसरी स्कुल पढाउने ? भन्ने कुराले नि आमालाई सताईरहेको थियो । आमाले तुसारे गई मेठलाई भेटेर सवै कुरा गरेर आएपछि कालुलाई धनगडी जाने अनुमति मात्रै दिनु भएन कालु लाई पठाउने तयारीमा पनि लाग्नु भयो । भोलीपल्ट नै जानुपर्ने भएकोले ओढ्ने कम्बल, खाना खाने थाली, गिलास सहित लत्ता कपडा र खाजा,खुर्मा झोलामा बोकेर मंशीर २९ गते विहानै ढोरचौरबाट ट्रकमा चढेर ३२ जनाको टोलीसंगै कालु धनगडीतिर हान्नियो । एकदिन एकरातभरी ट्रक यात्रापछि खोड्पे पुगियो । त्यसपछि पैदल यात्रा सुरु भयो श्रीभावर,डेउडा हुदै कालु सहितको टोलीले बझाङ जिल्लाको रायल गा.वि.स.को सेती किनारमा गएर क्याम्प खडा ग¥यो । भोली पल्टदेखि नै सडक खन्ने काम सुरु भयो । कहिले गैंति त कहिले बेल्चा प्रयोग गर्दै दैनिक साईडमा काम गर्नुपर्ने स्थिति भयो । विकास निर्माणका दृष्टिकोणले कालुको जिल्लाभन्दा दुर्गम बझाङ जिल्लामा खाद्यान्न अत्यन्तै महंगो रहेछ । ३२ जनाको भान्सामा खाना खाँदा पनि महिनाको प्रतिव्यक्ति एकहजार÷ एघारसयसम्म खाना खर्च आउन थाल्यो । करीव एकमहिना काम गरिसकेपछि मेठसावले दैनिक ज्याला(ढ्यारी) सुनाए । जसमा कालूलाई दैनिक रु.४९ ढ्यारी सुनाईयो र कालुले त्यसपछि हिसाब ग¥यो । महिनामा एकहजारमात्र रासन खर्च आउदा पनि एकमहिनामा कालूको रु. पाँचसय पनि नबच्ने भयो । त्योतिबेला सम्म पहिलोपटक घर छोडेर त्यति टाढा गएको कालूका दिमागमा निरासाको बादल मडारिन थाल्यो । उसले बालुवा बोक्दा महिनामा १३ सयसम्म बचाउने गरेको सम्झीयो र त्यहाँको कडा काम र थोरै ढ्यारीले कालू निराश हुन थाल्यो । कालुका अरु साथीहरु पनि त्यहि काममा थिए तर उनीहरु आफ्ना अभिाभावक संग थिए । अभिभावक विहिन त्यो उमेर समूहमा कालुमात्र त्यहाँ पुगेको थियो । कालूले रातभरी सोच्यो कि संयोगले म विरामी भए, काम गर्न सकिएन, हाजीर कम भयो भने पढाईकोलागि कमाउन आएको कालू बगाया लगाएर पो घर फर्किनु पर्ने हो की ? पढाई नै छोडनु पर्ने होकी ? यस्ता अनेकौं प्रश्नहरुले कालूलाई सताईरहन थाले । त्यसपछि कालूले आईपर्ने सम्भावित संकट व्यवस्थापनको लागि झनै कठोर हुनुपर्ने महसुस ग¥यो र घरबाट ल्याएको बचेको खाजा, खुर्मा रु. ७० रुपैयाँ लुकाएर सुरक्षित राख्यो । दिनभरी कामले थकित कालू प्राय रातभरी अनेकौं प्रश्नहरुको जवाफ खोज्दै अवेरसम्म तिर्पालमुनीको कम्वलमा गुटमुटिन्थ्यो । एकदिन उसको दिमागले अर्काे प्रश्नको जवाफ खोज्न थाल्यो । ठेकेदारले हिसाव गर्नै असजिलो हुनेगरी ४९ रुपैया ढ्यारी किन सुनायो होला ? एकरुपैया थपेर पचास किन बनाएन ? तर उसले यसको जवाफ पत्ता लगाउन सकेन दिन वित्दै गए फाल्गुण महिना सुरु भएपछि स्कुल खुल्ने भएपछि कालु लगायतका विद्यार्थीहरु माघ मसान्त सम्म काम गरेर घर फर्किन चाहान्थ्ये तर समयमा ठेकेदार आएको छैन भनेर मेठले हिसाव गर्न मानेन । दैनिक ठेकेदार कहिले आउछ र हिसाव गरिदिन्छ र हामी घर जान्छौं भन्दाभन्दै फाल्गुण नै त्यहि सकिन थाल्यो । फाल्गुण २८ गते ठेकेदार साईडमा आउनसाथ कालू लगायतका विद्यार्थीहरु ठेकेदारको अगाडी गएर रुन थालेपछि ठेकेदार अचम्मित भएर किन रोएको ?भनी प्रश्न गरे । कालूले हामीलाई हिसाव गरिदिनुहोस हामी पढ्न जानुछ भनेपछि । ठेकेदार निकै रिसाएर दुईजना मेठतिर फर्किदै झोक्किए । विद्यार्थीहरुलाई किन ल्याएको ? त्यसपछि कालूलाई सुमसुम्याउदै ठेकेदारले भने तिमीहरु भोली जाने तयारी गर । साँझ नै हिसाव पठाई दिन्छु । “विहान डेउडा मेरो कोठामा मलाई भेटेर जानु” । त्यसपछि कालू लगायतका विद्यार्थीहरुमा खुसीको सिमा नै रहेन । साँझ मेटले हिसाव गर्दा सवैभन्दा बढी कालूले तीन महिनामा १४७५ रुपैया बचायो । उसले घरैबाट ल्याएको सत्तरी रुपैयासमेत गरी कालूसंग जम्मा१५४५ बचत भयो । भोली विहानै चारजना विद्यार्थीहरुको टोली पैदल यात्रा सुरु ग¥यो । विहानै ठेकेदारका कोठामा पुगेर ठेकेदारलाई खुसीका साथ सवैले नमस्कार गरे । ठेकेदारले पर्सबाट तानेर सवैलाई एक,एकसय रुपैया दिदै “ राम्रोसंग जानु, राम्रोसंग पढ्नु है ” भने । त्यसपछि कालूको दिमागमा अकस्मात एउटा जिज्ञाशा पैदा भयो । हामीलाई हिसावै गर्न अफ्ठेरो हुनेगरी ४९ रुपैया ढ्यारी दिने यो ठेकेदार किन हामीलाई सय रुपैया दियो होला ? कालुले डरार्इृ डराई सानो स्वरले सोध्यो “ठेकेदारसाव हामीलाई ४९ रुपैया मात्र ” ढ्यारी किन दिनुभएको हो ? ठेकेदार रिसाउदै भन्यो “तिमीहरुको ढ्यारी ५५ हो, ६ रुपैया तिमीहरुको मेठसावहरुले कमिशन राखेहोलान” त्यसपछि कालू र उसका साथीहरु मेठहरुका विषयमा नानाथरी कुरा काट्दै पैदल यात्रा सुरु गरे साँझपख श्रीभावर पुग्ने उकालोमा हिडीरहेको समयमा संयोगले कालुको गाँऊको बल बहादुर र डम्बर बहादुर भेटिए । रात परिसकेको थियो कालुहरु त्यहि बस्ने सल्लाह गरे । त्यो ओढारको डेरा रहेछ, तिर्पालभन्दा ओढारको डेरा अलि न्यानो हुदोरहेछ । खाना खाएर सुत्ने समयमा बल बहादुर ले कालूलाई सोधे “तिमीले कति बचत ग¥यौ ? ” कालूले ईमान्दार पूर्वक भन्यो पन्ध्रसय जति छ । नाताले दाई र मामा पर्ने उमेर ३० काटिसकेका बल बहादुर र डम्बर बहादुर ले कालूलाई अनुरोध गर्दै भने “हामीलाई पनि भाडा हालिदिनु प¥यो हामी बगायामा छौं” । कालूलाई संकट प¥यो एकमहिना पढाई ढिला भईसकेको छ । घरमा पुग्नसाथ कापी–किताब किन्नुछ, नाम लेखाउनु छ। कालू अक्मकिएकै समयमा बल बहादुरले भने “घर पुगेको दुईदिनभित्र जसरी पनि फिर्ता गर्छाै ।”कालूले मुख खोलेरै भन्यो मेरो पढाई ढिला भएको छ । तपाईहरुले समयमा पैसा फिर्ता गर्नु भएन भने पढाई झनै विग्रन्छ । उनीहरुले प्रतिबद्धता फेरी दोह¥याए । त्यसपछि कालू सहमत नभई सुख भएन । पाँच÷पाँच सय बल बहादुर र डम्बर बहदुरलाई कालूले दिएपछि । उनीहरुले घर फर्कनकोलागि आवश्यक तयारी गरे । भोलीपल्ट विहानै उठेर छ जनाको टोली श्रीभावर हुदै खोडपेतर्फ अगाडी बढ्यो । दुईदिनको बसयात्रापछि घर आइपुगेपछि कालू ले तीनदिनभित्र पढाईको सम्पूर्ण तयारी गरी कक्षा ८ मा भर्ना भयो र आफ्नो पढाई निरन्तर अगाडी बढायो…….।

प्रतिक्रिया